सुचना, समाचार र मनोरन्जन

‘कबड्डी ५’ को नयाँ गीत ‘थाक खोला’ सार्वजनिक, भिडियोमा दयाहाङको तीन अभिनेत्रीसँग नोकझोक

काठमाडौँ :

निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को नयाँ गीत ‘थाक खोला’ सार्वजनिक भएको छ। निर्माण टोलीले सोमबार बाँसुरी फिल्मसको आधिकारिक युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेको हो।

कालीप्रसाद बास्कोटाको शब्द, सङ्गीत र स्वर रहेको यस गीतमा रिकेश गुरुङ किजको सङ्गीत संयोजन, गिटारवादन तथा मिक्सिङ र मास्टरिङ छ। यस्तै, सारङ्गीमा हेमन्त कान्छा रसाइली र बेस गिटारमा कृष्ण लिम्बूले साथ दिएका छन्।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङ फिचर्ड छन्। भिडियोमा दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको रमाइलो नोकझोक, प्रेम र भावनात्मक सम्बन्धलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ। तीनै जना अभिनेत्रीहरूसँग दयाहाङको सम्बन्ध र रमाइलो नोकझोकले दर्शकमाझ चलचित्रको कथाप्रति कौतूहल थपेको छ।

Chaka Panja

थाक खोला, सेताम्य हिमाल र हरियाली डाँडापाखाका मनमोहक प्राकृतिक दृश्यहरू भिडियोको प्रमुख आकर्षण हुन्। भिडियोमा परम्परागत नृत्य वा कोरियोग्राफीभन्दा पनि चलचित्रकै कथाशैलीलाई निरन्तरता दिँदै पात्रहरूको सम्बन्ध र भावनालाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ।

यसअघि सार्वजनिक गरिएको चलचित्रको टिजरलाई दर्शकले रुचाएका थिए, जसमा धेरैले अभिनेत्री मिरुना मगरको खोजी गरेका थिए। हाल सार्वजनिक गीतमा भने उनी मुख्य रूपमा देखिएकी छन्, जसले गर्दा टिजरजस्तै गीतले पनि दर्शकको माया पाउनेमा निर्माण टोली विश्वस्त छ।

आगामी कात्तिक ६ गते (दसैँको पर्सिपल्ट) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रमा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ।

बाँसुरी फिल्मसको प्रस्तुतिमा बनेको यस चलचित्रमा निर्देशक रामबाबु गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी छ भने सागर राज कार्यकारी निर्माता हुन्। सञ्जय लामाको छायाङ्कन र सुरेन्द्र पौडेलको सम्पादन रहेको यस चलचित्रलाई नेपालमा ब्याङ्कटेश इन्टरटेनमेन्ट एन्ड टी फल्क र विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछन्।

Leave A Reply

Your email address will not be published.