पोखरा,
माघे सक्रान्तिदेखि नवलपरासीको देवचुलीमा २९२ सिट क्षमताको सिंगल थिएटर ‘आइएनआई देवचुली मल्टिप्लेक्स’ संचालनमा आउने भएको छ । यो संगैमल्टिप्लेक्स चेन आइएनआईको देशभर पर्दा संख्या ११ पुगेको छ ।
सो हलमा लेजर स्मार्ट प्रोजेक्टर बार्को–११ एस, एआईले पनि रिड गर्न सक्ने ध्वनिको नयाँ संस्करण ‘इमर्सिभ साउन्ड’, पल्ज स्पिकर्स, जीडीसी सर्भर, थ्रीडीको अत्याधुनिक संस्करण गेट–डी थ्रीडी जडान गरिएको छ ।
हलमा पर्दाको आकार ३७ फिट लम्बाई र साढे १५ फिट उचाइ छ । आइएनआई निर्देशक सुरेन्द्र थापाका अनुसार, भैरहवाको भाटभटेनीमा ४०० सिट क्षमता दुई हल पनि फागुन अन्त्यदेखि संचालनमा आउनेछन् ।
चलचित्र विकास बोर्डका अनुसार देशभर चालु अवस्थामा रहेका हलको संख्या १६९ छ । आइएनआईको देवचुली हल चलेसँगै देशभरका हलको संख्या १७० पुग्नेछ ।