सम्पादकीय/
नेपाली समाजमा चौतारा सामाजिक, धार्मिक र सांस्कृतिक महत्वको प्रतीक हो । चौतारामा पाइने वरपिपल र समीका रुख केवल छायाँ दिनेमात्र नभई पर्यावरणीय सन्तुलन कायम राख्ने जीवनदायी सम्पदा हुन् । तर, पछिल्लो समय पोखरामा ‘कोटी होम’ का नाममा चौताराका वरपिपल काटिएको घटनाले केवल वातावरणीय क्षति मात्र नभई हाम्रो सांस्कृतिक अस्तित्वमै चुनौती खडा गरेको छ । यो घटनाले प्रशासनिक कमजोरी, स्थानीय प्रतिनिधिको उदासीनता र धर्मको नाममा अन्धविश्वासको खतरनाक स्वरूपलाई प्रकट गरेको छ ।
धर्म आफैंले समाजलाई अनुशासित र जिम्मेवार बनाउने शिक्षा दिन्छ । तर, धर्मको नाममा सार्वजनिक सम्पत्तिको विनाश हुनु आपत्तिजनक छ । चौताराका बरपिपल काटेर मन्दिर परिसरमा थुपार्नु कानुनतः अपराध हो । यो कृत्यका दोषीलाई प्रशासनले कारबाही गर्नुको साटो ‘तमासा’ हेरेर बस्नु प्रशासनिक असक्षमता हो । नेपाली समाजमा धार्मिक क्रियाकलापको स्वतन्त्रता छ, तर यसको नाममा चौताराजस्ता सम्पदाको विनाशलाई कुनै पनि बहानाले स्वीकार गर्न सकिँदैन ।
चौतारा मास्नु भनेको केवल वातावरणीय सन्तुलन बिगार्नु मात्र होइन, सामाजिक मूल्यहरूलाई समेत आक्रमण गर्नु हो ।
वरपिपल र समीका रुखहरूले केवल छायाँ दिने होइन, हावा शुद्ध पार्ने र भूक्षय रोक्न महत्वपूर्ण भूमिका खेल्छन् । चौताराको धार्मिक र सांस्कृतिक महत्व त छँदै छ, यो यात्रुका लागि विश्राम स्थल पनि हो । चौतारा हराउनु भनेको हाम्रो समाजले आफ्नै सांस्कृतिक जरा गुमाउनु हो । पर्यावरणीय हिसाबले हेर्दा चौताराको विनाश जलवायु सन्तुलनलाई चुनौती दिन्छ । पचासौं ट्रक दाउरा हुने गरी रुख कटान हुनु प्राकृतिक विनाशको स्पष्ट उदाहरण हो ।
पोखरा महानगरपालिका, स्थानीय प्रशासन र नेपाल ट्रस्टका अधिकारीहरू यस प्रकरणमा पूर्णरूपमा जिम्मेवार देखिन्छन् । चौताराका रुख काटेर सरकारी स्वामित्वमा थुपार्दा पनि सम्बन्धित निकायको मौनता गम्भीर चिन्ताको विषय हो । प्रशासनिक अधिकारीहरूको यस्तो उदासीनता जनताको विश्वास गुमाउने कारण बन्छ । यस घटनामा संलग्नलाई कानुनी कारबाही गरिनु आवश्यक छ ।
चौताराहरूको संरक्षण स्थानीय निकायहरूको मुख्य दायित्व हो । विकासका नाममा वा कुनै धार्मिक बहानामा पनि चौताराहरू मास्न नदिने कानुनी तथा प्रशासनिक कडाइ आवश्यक छ ।
पोखरा महानगरपालिकाले आफ्नो हरियाली सहर निर्माणको योजनालाई सार्थक बनाउन पुराना चौताराहरूको पुनस्र्थापना गर्नुपर्ने आवश्यकता छ । जहाँ चौतारी थिए, त्यहाँ वरपिपलका नयाँ बिरुवा रोपेर हरियाली पुनर्जीवित गर्नुपर्छ । पुराना चौतारा जोगाउन नसके नयाँ बिरुवा रोपेर संरक्षण गरिनुपर्छ । महानगरपालिकाले चौताराको पुनर्निर्माणका लागि विशेष योजना बनाउनुपर्छ । साथै, यस्ता घटना नदोहोरिन कानुनी कडाइ अपनाइनुपर्छ ।
चौतारा हाम्रो सांस्कृतिक सम्पत्ति हो । यसलाई मास्ने अपराध कुनै पनि आधारमा क्षम्य हुन सक्दैन । यो घटना केवल धार्मिक अन्धविश्वास र प्रशासनिक कमजोरीको उपज होइन, यो समाजमा रहेको गैरजिम्मेवार प्रवृत्तिको पनि उपज हो । चौताराको संरक्षण हाम्रो दायित्व हो । त्यसैले यो प्रकरणमा संलग्नलाई कडा कारबाही गरिनुपर्छ । साथै महानगरपालिकालगायत निकायहरूले चौतारा संरक्षणका दीर्घकालीन योजना ल्याउनु आवश्यक छ । चौताराको रक्षा गर्नु भनेको हाम्रो सांस्कृतिक पहिचान र प्रकृति दुवैको रक्षा गर्नु हो ।
