सम्पादकीय / नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानको मस्कटमा भइरहेको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा प्रदर्शन गरेको अद्वितीय सफलताले देशभर उल्लासको वातावरण बनाएको छ । राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति र सामाजिक निराशाबीच नेपालीले खोजिरहेको खुसीको कारण फेरि एकपटक क्रिकेट बनेको छ । नेपाल अहिले सन् २०२६ मा भारत र श्रीलंकामा हुन लागेको टी–२० विश्वकपको ढोका ढकढक्याउँदैछ, जहाँ उसको प्रवेश लगभग सुनिश्चित भइसकेको छ । यो केवल खेलमैदानको उपलब्धि होइन, राष्ट्रिय मनोबल र गौरवको पुनर्जागरण हो । विश्व क्रिकेटमा आफ्नो दह्रो उपस्थितिको प्रमाण पनि दिएको छ ।
नेपालको यो सफलताको कथा सजिलो छैन । लिग चरणदेखि सुपर सिक्ससम्मको यात्रामा नेपाल अपराजित रहन सफल भयो । जापान, कतार, युएई र ओमानजस्ता टिमलाई हराउँदै । युएई र कतारविरुद्धको जित अन्तिम बलमा मात्र सम्भव हुँदा खेल नाटकीय र रोमाञ्चक बने, जसले टिमको आत्मबल, धैर्य र रणनीतिक सोचलाई प्रष्ट देखायो । यस्तो स्थितिमा भाग्य मात्र होइन, अनुभव र मानसिक दृढता पनि समानरूपमा निर्णायक हुने गर्छ ।
नेपाली क्रिकेटको इतिहास पुरानो भए पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको यात्रा छोटो हो । सन् १९९६ मा पहिलो पटक एसीसी ट्रफी खेलेपछि नेपालले लगातार संघर्ष, अस्थिरता र सीमित स्रोतका बीचमा यात्रा तय गरेको छ । तर यिनै सीमितताबीच नेपालको क्रिकेट विश्वसामु सम्मानित पहिचान बनाइरहेको छ ।
नेपालले सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई १२४ रनको फराकिलो अन्तरले हरायो । यो जित केवल स्कोरबोर्डको आँकडा होइन, यो राष्ट्रको आत्मबल, प्रतिबद्धता र निरन्तर सुधारको सन्देश हो । टस हारेर ब्याटिङ गर्दा नेपालले २० ओभरमा २१२ रन बनायो । जुन प्रतियोगिताको उच्चतम स्कोर पनि बन्यो । आसिफ शेख र दीपेन्द्रसिंह ऐरीका अर्धशतकले नेपालको शीर्षक्रम बलियो देखियो, जबकि लोकेश बमको विस्फोटक १२ बलमा ३९ रनले नेपाली ब्याटिङको गहिराइ र आक्रमक मानसिकताको साक्ष्य दियो ।
नेपालको बलिङ पनि उस्तै अनुकरणीय रह्यो । ललितनारायण राजवंशीको संयमित बलिङ, करण केसी र सन्दीप लामिछानेको अनुभवी नियन्त्रणले सामोआलाई ८७ रनमै रोकियो । ललितनारायणले मात्र तीन विकेट लिनु नेपालको स्पिन आक्रमण विश्वस्तरीय हुँदै गएको प्रमाण हो ।
यस प्रतियोगितामा नेपालले पाँच खेल सबै जित्यो । कुनै खेलमा भाग्यको सहारा होइन, खेलाडीको अनुशासन, रणनीति र आत्मबलको परिणामस्वरूप। सुपर सिक्समा नेपालले ओमान, युएई, कतार र सामोआलाई पराजित ग¥यो । यस अपराजित यात्राले नेपाललाई केवल च्याम्पियन बनाएको छैन, विश्व क्रिकेटमा एउटा उदाउँदो शक्ति बनाएको छ ।
यस विजयसँगै नेपाली क्रिकेटले पुनः एकपटक सन्देश दिएको छ, नेपाली खेलकुदमा निराशा होइन, सम्भावना पलाइरहेको छ । पछिल्लो दशकमा राजनीतिक अस्थिरता, आर्थिक सङ्कट र निराशाको छायामाझ नेपाली क्रिकेटले जनतालाई हाँस्ने कारण दिएको छ ।
यसले देखाएको छ, जब राष्ट्रले एकताको ऊर्जा खेलकुदमा लगाउँछ, तब परिणाम असम्भव हुँदैन । नेपालको यो सफलता केवल मैदानभित्रका ११ खेलाडीको मात्र होइन, लाखौँ नेपालीको सामूहिक भावना र आशाको फल हो । यो सफलता क्रिकेट सङ्घ (क्यान) को योजनाबद्ध तयारी, खेलाडीको कडा मिहिनेत र प्रशिक्षक टिमको रणनीतिक दृष्टिकोणको संयुक्त परिणाम हो ।
अब नेपालको लक्ष्य स्पष्ट छ, भारत र श्रीलंकामा हुने विश्वकपमा सम्मानजनक प्रदर्शन र टेस्ट राष्ट्रहरूसँग बराबरी गर्ने क्षमता प्रदर्शन गर्ने । त्यस्तो परिणामका लागि अबको चार महिना नेपालको तयारी, योजना र व्यवस्थापन क्षमताको परीक्षा हुनेछ ।
नेपालका लागि क्रिकेट अब केवल खेल होइन, राष्ट्रिय स्वाभिमान, एकता र अन्तर्राष्ट्रिय पहिचानको माध्यम बनेको छ । यो यात्राले नेपाली युवा पुस्तालाई प्रेरणा दिएको छ कि मिहिनेत, अनुशासन र निरन्तरता भए असम्भव भन्ने शब्दको अर्थ हराउँछ ।
नेपाल अहिले सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनको यात्रामा छ । यस्तो अवस्थामा खेल, विशेषगरी क्रिकेट, एउटा साझा राष्ट्रिय भावना र आत्मविश्वासको माध्यम बन्न पुगेको छ । क्रिकेटले देशका भिन्न भूगोल, जात, भाषा र समुदायका मानिसलाई एउटै खुसीमा बाँध्न सक्ने शक्ति बोकेको छ । यसका साथै, यस खेलले विश्व समुदायमा नेपालको छवि सुधार्ने र राष्ट्रिय गौरव बढाउने अवसर पनि दिएको छ । जब देशभित्र असन्तोष र अनिश्चितता हावी हुन्छ, त्यस्तो बेला क्रिकेटजस्तो सकारात्मक ऊर्जा प्रवाह गर्ने तत्व अत्यन्त महत्वपूर्ण हुन्छ ।
तर यो सफलता स्थायी बन्नका लागि दीर्घकालीन दृष्टिकोण आवश्यक छ । राष्ट्रिय खेल नीतिमा क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने बेला आएको छ । सरकारले खेल पूर्वाधारमा लगानी बढाउनुका साथै विद्यालयदेखि स्थानीय तहसम्म क्रिकेटका संरचनागत कार्यक्रम विस्तार गर्नुपर्छ । क्यानले पनि अब केवल प्रतियोगिता जित्ने भन्दा बढी, भविष्यका खेलाडी उत्पादन गर्ने, खेललाई स्थायित्व दिने र विश्वस्तरीय व्यवस्थापन प्रणाली विकास गर्नेतर्फ ध्यान दिन जरुरी छ । नेपालसँग क्रिकेटको संस्कृति छ, तर यसलाई निरन्तरता दिन संरचनागत लगानी, पूर्वाधार विकास र खेलाडी अभ्यस्तता कार्यक्रम अनिवार्य छन् । विश्वकप तयारीको चार महिनाको अवधिलाई गम्भीरतापूर्वक लिँदा मात्र नेपालले आगामी विश्वकपमा ठूला राष्ट्रहरूविरुद्धको चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्छ ।
अपराजित रहँदै च्याम्पियन बनेको नेपालले विश्व क्रिकेटमा एउटा सन्देश दिएको छ, “हामी यहाँ छौँ, र अब हामीलाई रोक्न सकिँदैन ।” यो विजय केवल खेलको सफलता होइन, राष्ट्रको मनोबल पुनर्जीवनको प्रतीक हो । अब सरकार, क्यान र निजी क्षेत्र सबैले सहकार्य गरेर यो उपलब्धिलाई स्थायी बनाउने दिशामा अघि बढ्न जरुरी छ । नेपालले इतिहास रचिसकेको छ, अब त्यस इतिहासलाई निरन्तरतामा रूपान्तरण गर्न समयले आह्वान गरेको छ ।
क्रिकेटले अहिले नेपाली जनतामा हराउँदै गएको आशा र आत्मविश्वासलाई पुनर्जीवित गरेको छ । यसले प्रमाणित गरेको छ, मिहिनेत, योजना र दृढ इच्छाशक्ति भए कुनै पनि असम्भव लक्ष्य हासिल गर्न सकिन्छ ।
अब नेपालको जिम्मेवारी यही उत्साहलाई दीर्घकालीन उपलब्धिमा रूपान्तरण गर्नु हो । सरकार, क्यान र निजी क्षेत्रबीच सहकार्य गरी क्रिकेटलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा अगाडि बढाउन सकियो भने, निकट भविष्यमा नेपाल ‘भाग लिने’ देश होइन, ‘विजय हासिल गर्ने’ देशका रूपमा विश्व मञ्चमा उभिनेछ । क्रिकेटको मैदानमा उम्किएको यो खुसी केवल खेलको उत्सव होइन, यो राष्ट्रिय आत्मगौरव, एकता र सम्भावनाको उज्यालो संकेत हो ।
नेपालको क्रिकेट यात्रा केवल खेलमैदानको विजय होइन, यो राष्ट्रको मनोवैज्ञानिक पुनर्जागरण हो । विगतका कठिनाइ र अस्थिरताबाट उठेर पुनः विश्व मञ्चमा उभिनु नेपाली खेलको जीवटता र जनताको समर्थनको प्रतिफल हो । अब आवश्यक छ, यस उत्साहलाई दीर्घकालीन संस्थागत सफलतामा रूपान्तरण गर्ने । क्यानले प्रदर्शन गरेको दक्षता र दूरदर्शितालाई निरन्तरता दिँदै सरकारले खेल नीति, पूर्वाधार र अन्तर्राष्ट्रिय सहकार्यमा ठोस पहल गर्नुपर्छ । यदि यो समन्वय कायम रह्यो भने, नेपाल केवल सहभागी राष्ट्र होइन, प्रतिस्पर्धी र विजयी राष्ट्रका रूपमा टी–२० विश्वकप २०२६ मा उभिनेछ, त्यो क्षणमा सम्पूर्ण नेपाली पुनः गर्वले टाउको उठाउने छन् । प्रिय नेपाली क्रिकेट खेलाडी, जित्नका लागि सारा संसार खाली छ । सफलताको शुभकामना ।