पोखराको दिगो सहरी यातायात व्यवस्थापनका लागि बहुप्रतीक्षित इमोबिलिटी परियोजना अघि बढ्ने भएको छ। एशियाली विकास बैंक (ADB) र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त पहलमा आयोजित कार्यशालामा परियोजनाको सैद्धान्तिक सहमति भई अन्तिम तयारी पूरा भएको छ।
यस परियोजनाले पोखरामा विद्युतीय सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने, चार्जिङ पूर्वाधार निर्माण गर्ने तथा वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र परियोजनाका प्रतिनिधिहरूबीच भएको हालैको बैठकमा परियोजना छिट्टै कार्यान्वयनमा ल्याउने सहमति भएको छ।

काठमाडौंमा आयोजित बैठकहरूमा सरोकारवालाहरूको सहभागितामा परियोजनाका विभिन्न पक्षहरूबारे छलफल भएको थियो। मेयर आचार्यले पोखराको यातायात प्रणालीलाई आधुनिक, दिगो, र पर्यावरणमैत्री बनाउन यो परियोजना महत्वपूर्ण रहने बताएका छन्।
४० मिलियन अमेरिकी डलरको लगानीमा सञ्चालन हुने यो परियोजना पोखरालाई स्मार्ट सिटी बनाउने दिशामा ठोस कदम हुने अपेक्षा गरिएको छ। यसले वायु प्रदूषण न्यूनीकरण, ट्राफिक व्यवस्थापन सुधार, र यात्रुहरूको सुविधालाई प्राथमिकता दिनेछ।
पोखरा महानगरपालिका, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, एशियाली विकास बैंक र अन्य साझेदार संस्थाहरूको सहकार्यमा अब छिट्टै परियोजना कार्यान्वयन प्रक्रिया अघि बढ्नेछ।