सुचना, समाचार र मनोरन्जन

बगरमा प्याज खेती गर्दै किसान

 

कैलाली : टीकापुर नगरपालिका-८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् । कर्णाली नदीको किनारामा विगत तीन वर्ष केही किसानले प्याजखेती गर्दै आएको भए पनि यसवर्ष धेरै किसानले प्याजखेती गरेको स्थानीयको भनाइ छ ।

 

माटोमा भन्दा बालुवामा प्याज उत्पादन राम्रो हुने भएपछि फाँटाका किसानले बगरमा प्याजखेती गर्न लागेको बताएका छन् । तीन वर्षदेखि बगरमा प्याजखेती गर्दै आएका स्थानीय सहिबहादुर चौधरीले यसवर्ष ८६ किलो प्याजको बीउ लगाएको बताए ।

 

 

‘गतवर्ष २० किलो प्याजको बेर्ना लगाएर तीन क्विन्टल प्याज उत्पादन भयो,’ चौधरीले भने, ‘गत वर्ष बेर्ना राम्रो भएन, पहिलो पटक १३ किलो बेर्ना लगाएर पाँच क्विन्टल उत्पादन भएको थियो ।’

 

यसवर्ष अढाइ कठ्ठामा खेती गरेको उनको भनाइ छ । ‘सुरुमा हामी एक दुई जनाले खेती गथ्र्यौँँ अहिले पूरै गाउँ प्याज खेतीमा लागेको छ,’ चौधरीले भने, ‘सुरु सुरुमा साँझ बिहान सिँचाइ गर्नुपर्छ, हुर्केपछि धेरै मेहनत गर्नुपर्दैन ।’

 

विगतमा भारतीय व्यापारीले त्यहाँ लौका र खर्बुजा खेती गर्ने गरेका थिए । स्थानीयले प्याजखेती गर्दा जग्गा खाली नभएपछि भारतीय किसान आउन छाडेको स्थानीयको भनाइ छ । गत वर्ष ६ किलो बेर्ना लगाएर डेढ क्विन्टल बढी प्याज उत्पादन गरेको रामदुलारी चौधरीले बताए ।

 

‘पोहोरसाल ६ किलो प्याजको बेर्ना लगाएको थिए, यसवर्ष १६ किलो बेर्ना लगाएका छौँ,’ रामदुलारीले भने, ‘पोहरसाल एक क्विन्टल २० किलो बिक्री गरेको थिए, बाँकी आफन्तलाई दियौँं र घरमा खायौँ ।’

 

बालुवामा प्याज उत्पादन बढी हुन्छ भनेर यस पटकबाट बगरमा प्याजखेती सुरु गरेको टीकापुर–८ वनगाँउका किसान हिक्मत ठकुल्लाले बताए । ठकुल्लाले पहिलो पटक १६ किलो बेर्ना लगाएको बताउँदै पहिलो पटक अनुभव लिन लागेको बताए ।

 

‘फाँटा गाउँका किसानले लगाएको देख्दा मैले पनि खेती गरेको छु, सिँचाइ बढी गर्नुपर्ने रहेछ,’ ठकुल्लाले भने, ‘मसँग त अरु खेत पनि छ तर बगरमा राम्रो फल्छ भनेर यतातिर लागेको हुँ ।’ प्याज खेतीको लागि खुकुलो माटो उपयुक्त हुने भएकाले राम्रो उत्पादन भएको हुनसक्ने जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए।

 

‘हामीले बगरमा कृषि खेतीगर्नुहोस् भनेर सिफारिस गर्दैनौँ तर प्याजका खेतीका लागि खुकुलो माटो चाहिन्छ,’ चौधरीले भने । फाँटा गाउँका किसानले प्याजखेती बढाएपछि किसान बगरको प्याजखेती हेर्न आउने गरेको स्थानीय समाजसेवी शेरबहादुर साउदले बताए ।

 

‘अहिले दैनिक जसो अन्यत्रका किसान यो प्याजखेती हेर्न आउँछन्,’ साउदले भने, ‘यसरी सफल हुँदै गयो, भने कर्णालीको बगर हिउँदमा खाली हुँदैन ।’ बगरमा प्याजखेती सफल हुँदैगएमा टीकापुर नगरपालिकाको वडा नम्बर ५, ६ र ७ का किसानले पनि खेती गर्ने अवसर पाउनेछन् ।

Leave A Reply

Your email address will not be published.