काठमाडौं :
फ्राइडे रिलिज अन्तर्गत फागुन १ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली फिल्ममा यसपटक कलाकारहरू नै केन्द्रमा देखिएका छन्। राजनीतिक, पारिवारिक र धार्मिक विषयवस्तुमा बनेका ‘बिगुल’, ‘श्री बुकुरोः द होम कलिङ’ र ‘शिवांश’ मार्फत स्थापितदेखि नयाँ पुस्तासम्मका कलाकार हलमा उत्रिएका हुन्।
राजनीतिक पृष्ठभूमिमा बनेको ‘बिगुल’ मा बेनिशा हमाल मुख्य आकर्षणका रूपमा देखिएकी छन्। उनीसँगै नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह र सरोज खनालजस्ता अनुभवी कलाकारले अभिनय गरेका छन्। जेन–जी पुस्ताको आन्दोलन र भ्रष्टाचारविरुद्धको कथामा यी कलाकारको प्रस्तुति नै फिल्मको मुख्य बल मानिएको छ।
पारिवारिक कथामा आधारित ‘श्री बुकुरोः द होम कलिङ’ मा अग्रज अभिनेत्री लक्ष्मी गिरी शीर्ष भूमिकामा छिन्। लामो समयपछि उनी मुख्य भूमिकामा देखिएकी हुन्। फिल्ममा आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशानलगायतका कलाकारको अभिनय छ। बहुपात्र रहेको यस फिल्ममा सम्बन्ध र भावनालाई कलाकारहरूले नै बोकेको निर्माण पक्षको दाबी छ।
धार्मिक कथामा आधारित ‘शिवांश’ मा प्रवीण खतिवडा मुख्य भूमिकामा प्रस्तुत भएका छन्। उनीसँगै तेज गिरी र रुषा न्यौपानेले अभिनय गरेका छन्। भगवान शिवको कथासँग जोडिएको यस फिल्ममा प्रवीणको भूमिका विशेष चर्चामा छ।
तीन फरक विधाका यी फिल्ममार्फत स्थापित कलाकारदेखि नयाँ अनुहारसम्मले एकैसाथ प्रतिस्पर्धा गरेका छन्। दर्शकको रोजाइ कुन कलाकार र कुन कथाले जित्छ भन्ने चासो यतिबेला हलमा केन्द्रित भएको छ।