काठमाडौँ :
विन्ध्यवासिनी क्रियसन प्रालीको ब्यानरमा निर्मित फिल्म ‘फिरफिरे फिरिरी’को प्रदर्शन मिति हेरफेर गरिएको छ। निर्माण टिमले यहि कार्तिक २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई आगामी माघ ४ गतेलाई पुर्याएको हो।
निर्माण पक्षले बुधबार एक विज्ञप्तीजारी गर्दै प्राविधिक कारणले निर्धारित मितिमा प्रदर्शन गर्न असमर्थ रहेको उल्लेख गरेको छ। नविन भट्टको निर्देशनमा तयार भएको फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ। निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट तयार पारेका हुन्।
हरर कमेडी जनराको यो फिल्मका निर्माता मनोज कुमार अधिकारी हुन्। ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ जस्ता फिल्म निर्माण गरेको १५ वर्षपछि फिल्ममा फर्किएका हुन्। नितिश पुन सह(निर्माता रहेको फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन छ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्मलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ। फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।