सुचना, समाचार र मनोरन्जन

प्रदेश मातहत रहेका गण्डकीका सबै अस्पताल स्तरोन्नति गरिने

पोखरा/

गण्डकी प्रदेश सरकार मातहतका अस्पतालको स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य मन्त्रालयको सिफारिसमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सबै अस्पताल निर्माणको सैद्धान्तिक सहमति दिएको हो ।

योसँगै हाल ३९५ शय्या रहेको यहाँका अस्पतालको बेड क्षमता ७ सय पुग्नेछ । स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ र मुस्ताङ जिल्ला अस्पताललाई २५ शय्यामा स्तरोन्नति गरिँदैछ । हाल दुवै अस्पतालको क्षमता १५ शय्या मात्रै छ । पर्वत, स्याङ्जा र तनहुँको दमौली अस्पताललाई १५ बाट ५० शय्यामा स्तरबृद्धि गर्न लागिएको छ । २५ शय्याको स्वीकृतिबाट चलिरहेको पोखराको मातृ शिशु अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिनेछ ।

गण्डकी प्रदेशकै महत्त्वपूर्ण बागलुङको धवलागिरि अस्पताल र नवलपुरको मध्य विन्दु अस्पताललाई १ सय बेडमा स्तरोन्नति गर्न लागिएको छ । धवलागिरि हाल ५० शय्या र मध्य विन्दु २५ शय्या क्षमतामा चलिरहेका छन् ।

एक सय शय्याको अस्पतालले मात्र प्राविधिक विषय पढाउन पाउने कानुनी व्यवस्था रहेकोले सम्भावित अस्पतालमा बेड थप्न लागिएको स्वास्थ्य मन्त्री कृष्ण पाठक बताउँछन् । चालू वर्षदेखि नै गोरखाको आँप पिपल अस्पताल र बागलुङको बुर्तीबाङ अस्पताल प्रदेश मातहत ल्याएर ५० शय्या क्षमतामा सञ्चालन गरिएको छ । लमजुङ, गोरखा र म्याग्दी जिल्ला अस्पतालको स्तरबृद्धि यसअघि नै गरिएको छ । तीनवटै अस्पताल ५० शय्यामा चलिरहेका छन् ।

प्रदेश सरकार मातहत गण्डकी प्रदेशभित्र १४ अस्पतालहरू छन् । ती अस्पतालबाट वार्षिक ६६ करोड ४७ लाख आम्दानी छ भने ५९ करोड खर्च हुने मन्त्री पाठकको भनाई छ ।

Leave A Reply

Your email address will not be published.