पोखरा,
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले अहिले सम्म सबै तिरको रकम ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको जानकारी दिए ।
उनका अनुसार नगद रसिद मार्फत ४ करोड ५३ लाख १३ हजार ६८, क्युआर मार्फत ३१ लाख ७ हजार २ सय ७३, चेक मार्फत १४ लाख ४१ हजार ७ सय १० जौ चरुमा भेटी स्वरूप आएको १९ लाख ७४ हजार १ सय ९४, जिन्सीमा आएको भेटी १४ लाख ८४ हजार ५ सय ६८, गोप्य दान मार्फत २२ हजार ४ सय ७२, दान पेटीकामा ३५ लाख ४४ हजार २ सय ९० गरी जम्मा ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको छ ।
कोटिहोममा राखिएका ११ हजार कलश मध्ये अहिले सम्म ४ हजार ४ सय ९ जना भक्तजनले बुकिङ गरिसकेको उनले जानकारी दिए । उनले कोटिहोम सकिना साथ पत्रकार सम्मेलन गरेर सम्पूर्ण आय व्यय सार्वजनिक गर्ने उद्घोष गरे ।
कुनै पनि धर्म गुरुले यसरी महायज्ञको आय व्यय सार्वजनिक गरेको रेकर्ड छैन म नै पहिलो हो’ उनले भने, ‘यहाँ सङ्कलन भएको सम्पूर्ण रकमको अडिट सहित पत्रकार सम्मेलन गरेर सार्वजनिक हुन्छ अनावश्यक हल्लाको पछाडि नलाग्न सम्पूर्ण भक्तजनलाई म आग्रह गर्दछु ।’
उनले कोटिहोममा जग्गा दान गर्ने क्रम पनि बढ्दै गएको छ । भोली नै स्याङ्जाबाट करिब ३ रोपनी जग्गा दान गर्ने जानकारी प्राप्त भएको उनले जानकारी दिए । आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए । यसअघि अन्नपूर्ण गाउँपालिका १५ रोपनी जग्गा प्राप्त भइसकेको छ ।
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै गएपछि पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ ३१ गते सम्म सञ्चालन हुने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले उद्घोष गरे ।
पोखरामा महानगर पालिकाका मेयर, उपमेयर, प्रवक्ता प्रशासकीय अधिकृत, सम्पूर्ण वडाका वडा अध्यक्षको साथ र सहयोगमा जेठ ३१ सम्म सञ्चालन हुने उनले जानकारी दिए । कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहे पनि कोटिहोमको समय थपसँगै बालयोगेश्वरको अनुरोधमा जेठ ३१ गते सम्म रहने छिन् ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले बुधवार पोखरा जारी कोटिहोमबाट अन्य प्रदेशमा पनि कोटिहोम सञ्चालन गर्ने घोषणा गरेका छन् । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
