सुचना, समाचार र मनोरन्जन

फिल्म ‘गोबर गणेश’ निर्माणको घोषणा, बल्छी धुर्बेको निर्देशनमा माघ १ गते प्रदर्शन

काठमाडौं :

हास्यकलाकार मरिचमान श्रेष्ठ बल्छी धुब्रेको लेखन तथा निर्देशनमा फिल्म ‘गोबर गणेश’ निर्माण हुने भएको छ। निर्माण पक्षले फिल्मको घोषणा गर्दै माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने तय गरिएको छ।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुति रहने फिल्ममा प्रमुख अभिनेत्रीको भूमिकामा वर्षा सिवाकोटी रहनेछिन्। उनका साथमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ, सीता देवी तिमल्सिना र पुजन घिमिरे रहेका छन्। सीता देवी चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)की धर्मपत्नी हुन् भने पुजन ‘हल्का रमाइलो’ सिरियलकी कलाकार हुन्।

निर्देशक मरिचमान श्रेष्ठले फिल्मको प्राविधिक वक्षको भने जानकारी दिएका छैनन्। उनले मिडियासँगको कुराकानीमा भने,‘हामी कलाकार र प्राविधिकको नाम विस्तारै सार्वजनिक गर्दै जानेछौं। अहिलेका लागि फिल्मको शीर्षक घोषणा र प्रदर्शन मिति तय गरेका हौँ। फिल्मको कथा के हो भन्ने पनि चाँडै खुलाउनेछौं। तर, चलचित्रको नामले नै प्रस्ट पार्छ—हामी हँसाउन आउनेछौं। हास्य शैलीमा आधारित फिल्म ‘गोबर गणेश’ हुनेछ।’

टेलिभिजन धारावाहिक ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका मरिचमान श्रेष्ठ पछिल्लो समय निर्देशकका रुपमा समेत सक्रिय रहेकी छन्। उनका निर्देशनमा बनेका ‘हल्का रमाइलो’ र ‘जुठे’ जस्ता सिरियलहरू दर्शकमाझ निकै लोकप्रिय छन्। अब उनी ‘गोबर गणेश’ मार्फत ठुलो पर्दामा निर्देशनमा हात हालीरहेका छन्।

निर्देशक श्रेष्ठ आफैं फिल्ममा अभिनय गर्ने वा नगर्ने भन्ने विषयमा भने हाल कुनै खुलासा गरेका छैनन्। उनी आफैले अभिनय गर्ने नगर्ने भन्नेमा विस्तारै जानकारी दिने पक्षमा छन्। डिजिटल साझेदारमा ओएसआर डिजिटल रहनेछ। नेपालभित्र फिल्मको वितरण कार्य श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।

Leave A Reply

Your email address will not be published.