बुटवल,
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ देखि २०२४ सम्मको ३ वर्षमा ७३१ वटा मात्र अन्तर्राष्ट्रिय उडान भएका छन् । यो ३ वर्षमा ४५ हजार ५७३ यात्रुले विमानस्थल प्रयोग गरेका छन् ।
यो संख्यामध्ये सबैभन्दा धेरै पहिलो वर्ष सन् २०२२ मा ३०४ उडान र ३१ हजार ३५५ यात्रुले यात्रा गरेका छन् । सन् २०२३ मा १२८ उडान र ४ हजार ७५१ यात्रु रहेका छन् भने सन् २०२४ मा २९९ उडान र ९ हजार ४६७ ले यात्रा गरेका छन् ।
विमानस्थल प्रयोग गरेका यात्रुमध्ये सन् २०२२ मा भैरहवाबाट जाने १७ हजार ८९६ जना र आउने १३ हजार ४५९ जना छन् ।
सन् २०२३ मा भैरहवाबाट जाने २ हजार २९५ जना र आउने २ हजार ४५६ जना तथा सन् २०२४ मा भैरहवाबाट जाने ४ हजार १०३ जना र आउने ५ हजार ३४६ जना रहेको विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए ।
यो ३ वर्ष अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको थिएन । तर सन् २०२५ को जनवरीदेखि मार्चसम्म ३ महिनामा मात्रै २९९ अन्तर्राष्ट्रिय उडान भएका थिए । यो अवधिमा काठमाडौंको त्रिभुवन विमानस्थल मर्मत भइरहेकाले उडान कटौती भएको थियो । त्यो बेला नेपाल एअरलाइन्स, जजिरा, फ्लाई दुबई र थाई एअर एसियाले अन्तर्राष्ट्रिय उडान गरेका थिए ।
३ महिनामा मात्रै १५ हजार १४८ यात्रुले विमानस्थल प्रयोग गरेका छन् ।