सुचना, समाचार र मनोरन्जन

निर्देशकलाई प्रश्न– ‘गौँथली’ ५१औँ दिनको यात्रातर्फ हो ?

काठमाडौं :

विसं. २०५७ सालमा रिलिज भएको चलचित्र ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो। तत्कालीन माओवादीले सिनेमा हल बन्द गराइरहेको बेला कठमाडौंमा भने यो सिनेमा लामो समय चल्न सकेको थिएन ।

तर, काठमाडौंबाहिरका दाङलगायत तीनवटा स्टेशनमा भने यसले ५१ औँ दिन मनाउन सफल भएको थियो। ५१ औँ दिनको सफलता मनाएको यो सिनेको पहिलो म्युजिकल सिनेमा थियो। त्यसकै अपडेटेड भर्सनमा रुपमा २६ वर्षपछि फेरि ‘गौँथली’ बन्यो। डा. भोला रिजालकै कथामा उनका छोरा डा. कपिल रिजालले निर्देशन गरे। ‘ह्यारी कि प्यारी’ पछि उनको यो दोस्रो निर्देशकीय फिल्म थियो।

यो फिल्म यसरी चल्यो १९ करोड ग्रसकलेक्सन गरिसकेको छ, यो आकडा अनुसार यो वर्षको हालसम्मको सबैभन्दा धेरै कमाउने चलचित्र हो। प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गर्दा १९ करोडको आकडा पार गरिसकेको छ। आज (शनिबार) पनि अधिकांश शो हाउसफूल प्रायः छ।त्यसैले यो चलचित्र अब २५ करोडको आकडातर्फ अगाडि बढ्ने बाटोमा छ। पाएका प्रायः शो हरेक दिन हाउसफूल भइरहनु र समाजमा भित्रभित्रै यसको चर्चा हुनुले यसले व्यापारिक लय तत्काल गुमाउने अवस्था छैन।

‘स्पाइडर म्यान’को शो कम हुँदै जाँदा ‘गौँथली’को शो थपिँदै जानु र नयाँ रिलिज भएका सिनेमामा भन्दा दर्शकको रोजाइ यसमा देखिनुले यसले ५१औँ दिनको यात्रा तय गर्ने लगबत निश्चित जस्तै देखिएको छ। “हलमा आएपछि सिनेमा हाम्रो रहँदैन,दर्शकको हुन्छ। दर्शकले मन पराइदिइरहनु भएको छ। आफूले हेरेपछि आफ्ना आफन्त र छिमेकीलाई हेरिदिनुस् भनेर भनिरहनु भएको छ,”निर्देशक कपिल रिजाल भन्छन्, “अहिलेसम्मको माया र प्रतिक्रिया हेर्दा ५१ औँ दिनको सेलिब्रेसन ‘गौँथली’ले गर्छ भन्ने लागेको छ।”

वर्ड अफ माउथ राम्रो हुँदा सिनेमाले अफ डेमा समेत हाउसफूल अकुपेन्सीमा व्यापार गरिरहेको छ। महिलाहरू हलमा बढी देखिएका छन्।साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा,ईश्वरी बराल,सञ्जोग रसाइली,सीतादेवी तिमिल्सिना,लक्ष्मीनाथ तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर,निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन्। घर परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।
Leave A Reply

Your email address will not be published.