काठमाडौँ,
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी भएका ७० भन्दा बढी जेनजी अगुवाहरूले आन्दोलनको दुवै दिनको छानबिन गर्नुपर्ने बताएका छन् ।
२३ गते भएको दमन र त्यसपछि भएको तोडफोड, आगजनी दुवै कुरालाई सरकारले गम्भीर ढङ्गले लिनुपर्ने बताएका हुन् ।आन्दोलनका घटनाहरूबारे निष्पक्ष छानबिनको माग गर्दै जेनजी अगुवाहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेका छन् ।
शहीद तथा घाइते परिवारलाई तत्काल क्षतिपूर्ति र सहयोगको माग समेत उनीहरुले गरेका छन् । दमन, हत्या, आगजनी, लुटपाट जस्ता आपराधिक घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र शान्तिपूर्ण आन्दोलनलाई अपराधीकरण गर्ने प्रयासको भर्त्सना गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जेनजी पुस्ताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै हिंसात्मक व्यवहार अस्वीकार गरेको जनाएको छ ।
तर्क, विचार तथा संवादमा आधारित नयाँ राजनीतिक संस्कृतिको वकालत गर्नुपर्ने भन्दै उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरूलाई पूर्ण स्वायत्तता दिई विगतका भ्रष्टाचारका मुद्दाहरूको छानबिन गरी निष्कर्षमा पुर्याउन पनि माग गरिएको छ ।
आन्दोलनका कारण गठित अन्तरिम सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेको सन्दर्भमा जेनजी पुस्ताले सबै राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ ।