काठमाडौं : मरिचमान श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। माघ १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले बलियो वर्ड अफ माउथ पाएकाले आगामी दिनमा हलमा दर्शक संख्या अझै बढ्ने विश्वास निर्माण टिमले लिएको छ।
फिल्म हेर्न हल पुगेका दर्शकले कथावस्तु आफ्नै घर–परिवारको कथा जस्तै लागेको प्रतिक्रिया दिइरहेका छन्। विशेषतः निम्नमध्यम वर्गीय परिवारको दैनिकी र यथार्थलाई फिल्मले जीवन्त रूपमा प्रस्तुत गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन्।
निर्देशक तथा मुख्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’का अनुसार, दर्शकले फिल्म हेरेपछि “आफ्नै घरको कथा पर्दामा देखे जस्तो लाग्यो” भन्ने प्रतिक्रिया दिइरहेका छन्। “दर्शकले हाम्रो आफ्नै कथा फिल्ममा पाएको अनुभूति व्यक्त गरिरहनु भएको छ, त्यसैले हलमा दर्शकको चाप अझै बढ्नेमा म ढुक्क छु,” उनले बताए।
बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा बल्छी धुर्वेसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।
फिल्ममा तारानाथ न्यौपाने चिफ एडिटर, योगेश काजी शाहको पृष्ठभूमि संगीत, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको छायांकन र विपीन मल्लको सम्पादन रहेको छ। टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपालमा वितरणको जिम्मा श्री ब्याकटेस इन्टरटेन्मेन्टले लिएको छ।