काठमाडौं :
हास्य अभिनेताका रुपमा परिचित हरिवंश आचार्यले थुप्रै फिल्ममा गीत गाएका छन्। ‘तँ त साह्रै बिग्रिस बद्री’को गीतदेखि सन् २०१६ मा रिलिज भएको फिल्म ‘जात्रा’मा समावेश ‘नोट नोट’सम्म आइपुग्दा दर्जनौ गीत गाएका छन्।
यो गीत गाएको करिव ८ वर्षपछि उनले फिल्मको पार्श्व गायनमा कमब्याक गरेका छन्। अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘सोल्टिनी’को एक गीतमा उनले आइतबार गीत रेकर्ड गरेका छन्। हर्कुलस बस्नेतको संगीत रहेकोउक्त गीतमा हरिवंशले गाएका निर्देशक सुवेदीले जानकारी दिएका छन्।
यही (पुष) महिनाको अन्तिमबाट छायांकनको जाने भनिएको यो फिल्ममा प्रकाश सपूत,परीक्षा लिम्बू,विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतको पनि अभिनय रहनेछ।सुशन प्रजापतिको छायांकन रहने फिल्मको एक गीतमा प्रशान्त सिवाकोटीले पनि संगीत दिनेछन्।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने फिल्मको स्क्रिप्ट अर्जुन सुवेदी र कुमार भट्टराईले मिलेर लेखेका हुन् । रेजिना बिस्ट र संसार चौलागाईँ रहेको फिल्मलाई २०८२ साल असोज ३ गते प्रदर्शनमा आउने बताइएको छ।