काठमाडौं :
काठमाडौंको थापागाउँस्थित मण्डलानाटक घरको प्राङ्गणमा पुराना पुस्ताका कलाकार र नयाँ पुस्ताका कलाकारबीच मज्जाको गफ चल्यो। हरिंवंश आचार्य र पछिल्लो समय हिट फिल्म दिएका बिजय बरालबीच एकअर्काको संघर्षको कथा सुनाए।
आफ्नो समकालीन पुस्ता र नयाँ पुस्तालाई समेत प्रभावित पार्दै सक्रिय काम गरिरहेका हरिवंश आचार्यले अभिनय क्षेत्रमा पाँच दशक बढी समय बिताइसकेका छन्। नाटकबाट संघर्ष गर्दै फिल्मको पर्दामा नेपाली फिल्मकै सर्वाधिक कमाई गरिदिने अभिनेता बिजय बरालसँग भलाकुसारी गर्दै उनले आफ्नो उमेर ६७ पुगेपनि काम गर्ने बेला तपाईंको उमेर ३७ वर्षको भएर गर्ने गरेको सुनाए।
उपस्थित भएका सयौँ कलाकर्मी तथा दर्शकमाझ दुवैले खुलेर कुरा गरे । दुई पुस्ताका यी कलाकारबीच तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अन्तिम दिनको अन्तिम सेसनमा भलाकुसारीमा हरिवशंकले आफूलाई शारीरिक रुपमा स्वस्थ राख्न अनुशासित भएर सामान्य कसरत गर्ने उपाय बताए। उनले भने, ‘मानसिक रुपमा स्वस्थ राख्न म नकारात्मक कुराहरुलाई टेबल टेनिसको बललाई हिर्काएजस्तै गरी प्याट्ट अर्कोतिर फाल्छु।’ सोही क्रममा उनले आध्यात्मिक रुपमा पनि आफुले ध्यान अभ्यास गरिरेको बताए।
उनले चरित्र निर्वाह गर्ने क्रममा कहिले युवा त कहिले वृद्ध बन्नुपर्ने भएकोले आवश्यकता अनुसार डेन्टिङ पेन्टिङ पनि गर्ने बताए। मण्डला थिएटरको आँगनमा उनले आफूले पहिलो पटक राष्ट्रिय नाचघरमा नाटक गर्दाको क्षण स्मरण गर्दै आफ्ना गुरुहरु जितेन्द्र महत अभिलाषी र हरिप्रसाद रिमाललाई सम्झिए। डायलग बोल्ने कुरामा गुरु रिमालले सिकाएको ज्ञान पछिसम्म उपयोगी भएको र त्यसबेला अहिले जस्तो थिएटर नभएकोले रेडिमेड हलहरुमा गएर प्रस्तुति दिने गरेको भन्दै उपस्थित सबैलाई हँसाए।
हास्य व्यंग्य, प्रहसन र नाटकमा धेरै फरक छैन भन्दै उनले आफू सधैं नाटकको नजिक रहेकोमा जोड दिए। कार्यक्रममा आफू नाटकको पृष्ठभूमिबाट आएकोले नै जग बलियो भएको तर्क गर्दै उनले अहिलको सिनेमा क्षेत्र नै थिएटरका कलाकारले नेतृत्व गरेको तर्क गरे। पूर्णबहादुरको सारंगीपछि चर्चाको शिखरमा पुगेका बिजयले हरिवंशलाई सोधे, एउटा सफल कलाकारले आफूलाई सफलताको विन्दुमा टिकाइराख्न कत्तिको सहज हुन्छ वा तनाव हुन्छ? त्यसलाई कसरी टिकाइराख्ने’
‘उमेर र अनुभव यति धेरै भइसक्यो। तर मलाई हरेक पटक शोमा जानुभन्दा अगाडि मुटु ढुकढुक भइरहेको हुन्छ। दुई तीन पल्ट ट्पाइलेट पनि जान्छु। मनमा एक किसिमको डर उत्पन्न भइरहेको हुन्छ,’ उनले भने, ‘त्यो डर नै अनुशासन हो। हरेक पटक लेख्दा यसअघिको भन्दा राम्रो लेख्न सक्छु कि सक्दिनँ भनेर सचेत हुन्छु।’
पुराना सन्दर्भहरु स्मरण गर्दैगर्दा हरिवंशले आफ्नो आगामी फिल्म भूठानमा काम गर्दाको प्रसंगहरु पनि सुनाए। उनले भने, ‘भूठानको स्क्रिप्ट दुई तीन पटक पढेपछि यस चलचित्रमा काम गरेभने मैले पक्कै नयाँ केही गर्न सक्छु भन्ने लाग्यो। अनि मैले भूठानमा काम गर्ने निर्णय लिएँ।’