सुचना, समाचार र मनोरन्जन

स्वास्थ्य बीमा गरेका व्यक्तिले अब जुनसुकै नजिकको सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन पाउने

काठमाडौँ,

स्वास्थ्य बीमा गरेका व्यक्तिले अब तोकिएको ‘प्रथम सेवा बिन्दु’मै धाउनुपर्ने झन्झट हटेको छ ।

स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गतेदेखि लागू हुने गरी बीमितलाई जुनसुकै नजिकको सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने व्यवस्था गरेको छ ।

यसअघि बीमितले पहिलोपटक स्वास्थ्य बीमा सेवा सुरु गर्दा अनिवार्य रूपमा आफूले बीमा गरेको स्थानकै ‘प्रथम सेवा बिन्दु’मा जानुपर्थ्यो । तर अब स्वास्थ्य बीमा प्रणालीलाई थप लचिलो बनाउँदै उक्त बाध्यता हटाइएको हो । तर प्रथम सेवा लिनका लागि भने सरकारी स्वास्थ्य संस्थामा नै जानुपर्छ ।

स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा भएको संशोधनअनुसार बीमितलाई तोकिएको एक मात्र प्रथम सेवा बिन्दुबाट सेवा लिनुपर्ने बाध्यता हटाइएको छ ।

बीमा अवधि भरिमा देशभरि जहाँ भए पनि नजिकको अनुमतिप्राप्त सरकारी स्वास्थ्य सेवा प्रदायक संस्थाबाटै सेवा लिन सकिनेछ ।

बीमितलाई निरन्तर गुनासो आइरहने र सरलरूपमा सेवा उपभोग गर्न सहज वातावरण बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको बीमा बोर्डका सुचना अधिकारी विकेश मल्लले बताए ।

‘प्रथम बिन्दु सेवा एकै ठाँउमा हुँदा नागरिकले रेफर लिन विभिन्न झन्झट भोग्नुपरेको बीमितको गुनासो थियो,’ मल्लले अनलाइनखबरसँग भने, ‘अब देशको जुनसुकै प्रथम सेवा बिन्दुबाट बीमितिले सेवा लिन सक्नेछन् ।’

मल्लले थप स्पष्ट पार्दै भने, ‘इलामबाट स्वास्थ्य बीमा गरेका व्यक्तिले त्यहीबाट प्रथम बिन्दुको सेवा लिएपछि मात्रै रेफर हुने व्यवस्था थियो । तर इलाममा बीमा गरेको व्यक्तिले काठमाडौं पुगे पनि त्यहाँको अनुमतिप्राप्त संस्थाबाट सेवा लिन सक्नेछन् ।’

अब बीमितले स्वास्थ्य बीमा बोर्डबाट ‘प्रथम सेवा बिन्दु’को रूपमा अनुमति पाएका जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीको समय, पैसा र झन्झट कम हुने विश्वास गरिएको छ ।

त्यस्तैगरी विशेषगरी स्थानान्तरण, यात्रा वा आकस्मिक अवस्थाका बेला बीमितलाई उपचारमा सहजता पुर्‍याउने अपेक्षा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा गत १७ बैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्य बीमा नियमावली’ संशोधन गर्दै यस्तो व्यवस्था गर्न स्वीकृति दिएको थियो ।

सो निर्णयलाई कार्यान्वयनमा लैजाँदै बिहीबार स्वास्थ्य बीमा बोर्डले सार्वजनिक सूचना जारी गरेको हो ।

Leave A Reply

Your email address will not be published.