सुचना, समाचार र मनोरन्जन
Pdms

‘हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ’

काठमाडौँ, 
कोशी प्रदेश सरकारका प्रमुख परशुराम खापुङ्गले नेपालका हिमाल र साहसिक पर्यटकीयस्थल राष्ट्रका अमूल्य सम्पत्ति भएकाले यसलाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्ने बताएका छन ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि प्रदेश प्रमुख खापुङ्गले नेपालको हिमाली पर्यटन, जनजीवन, सभ्यता र संस्कृतिलाई प्रवर्द्धन गरी बढी भन्दा बढी विदेशी पर्यटक आकर्षण गर्नुपर्नेमा जोड दिए ।
उहाँले भन्नुभयो, “राससकोतर्फबाट तपाईंहरूले गर्नुभएको काम प्रशंसनीय छ । यसले मुलुकमा रहेका पर्यटकीयस्थानका साथै पर्वतीय पर्यटनका सम्भावना, हिमाली जनजीवन, वातावरणलगायत पक्षका बारेमा जानकारी दिएको छ । यसलाई सबैको सहकार्य र समन्वयमा ब्राण्डिङ गरिनुपर्छ ।”
प्रमुख खापुङ्गले हिमाल र साहसिक गतिविधिलाई समेटेर गरिएको तस्बिर प्रदर्शनीले पछिल्लो समय ‘मुलुकमा केही छैन र केही भएन’ भन्ने नकारात्मक भाष्यलाई चिर्दै देशमा केही भइरहेको छ भनी जनतामा आशा जगाउन प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
“पछिल्ला दिनमा नकारात्मक कुरा गरेर देशमा केही भएको छैन भन्ने भाष्य सिर्जना गरिएको छ, यो गलत हो”, उनले भने, “जुन ठाउँमा मोटरबाटो पुगेको थिएन अहिले पुगेको छ । ठाउँठाउँमा जहाज उडेका छन् । टेलिफोन र इन्टरनेट सेवा विस्तार भएको छ । जति गर्नुपथ्र्यो त्यति गर्नसकिएको छैन होला तर, प्रगति भएको छ ।”
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमाल, हिमाली जनजीवनका विविध पक्षको महत्त्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुगेको विश्वास व्यक्त गरे । उनले गणतन्त्रप्राप्तिपछि केही भएको छैन भन्ने भाष्यलाई चिर्न प्रदर्शनी सान्दर्भिक रहेको उल्लेख गरे।
यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।
Leave A Reply

Your email address will not be published.