हुम्ला/
हिमाली जिल्ला हुम्लासहित कर्णाली प्रदेशका उच्च जिल्लामा गएरातिदेखि हिमपात भइरहेको छ । हिजाे दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।
आज बिहान सदरमुकाम सिमकोटमा चार इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको छ । हुम्लामा यस वर्ष तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीयवासी गौगोरा बोहराले बताउनुभयो । यति बेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने किसानको भनाइ छ ।
हिमपातका कारण सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित भएको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ ।
यसैबीच हिजो बेलुकी पश्चिमबाट प्रवेश गरेको पानी पार्ने प्रणाली पूर्वसम्म पुगेको छ । पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावले सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै ठाउँहरूमा गएरातिदेखि पानी परिरहेको छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरूमा हल्का हिमपात पनि भइरहेको छ ।
भोलि दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । पानी पर्न रोकिएपछि चिसो झनै बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।