सुचना, समाचार र मनोरन्जन

पोखरा उद्योग वाणिज्य संघमा निर्मला चापागाईको कार्यसमिति सदस्यमा उम्मेदवारी

पोखरा,

व्यवसायसँगै सामाजिक सेवामा सक्रिय निर्मला चापागाईले पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुलातर्फ कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिनुभएको छ।

“सबल व्यवसायी, व्यवस्थित बजार, समृद्ध संघ” भन्ने सोचसहित चुनावी मैदानमा उत्रिनुभएकी चापागाई क्रम संख्या ७ मा उम्मेदवार हुनुहुन्छ। उहाँले व्यवसायीका समस्या, आवश्यकता र आवाजलाई संघमार्फत प्रभावकारी रूपमा उठाउँदै समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

पोखराको सिद्धार्थचोक, सब्जीमण्डीमा N3 ब्युटी कलेक्सन सञ्चालन गर्दै आउनुभएकी चापागाई व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि लामो समयदेखि सक्रिय हुनुहुन्छ। उहाँ लायन्स क्लब अफ पोखरा पुष्पाञ्जलीकी अध्यक्ष, नवजीवन परोपकार समाज तथा नारी सेवा समितिकी आजीवन सदस्य, दरबारथोक दिदीबहिनी समूहकी संस्थापक सचिव तथा मानव सेवा आश्रम छोरेपाटनकी अभिभावकका रूपमा विभिन्न सामाजिक अभियानमा जोडिँदै आउनुभएको छ।

विशेषगरी महिला उद्यमशीलता, सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमा उहाँको सक्रियताले व्यवसायिक नेतृत्वमा महिलाको सहभागिता थप सशक्त बन्ने अपेक्षा गरिएको छ।

चापागाईले पोखरा उद्योग वाणिज्य संघलाई व्यवसायीले समस्या लिएर पुग्ने मात्र नभई समाधान, सहकार्य र अवसर प्राप्त गर्ने साझा संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ। व्यवसायीका साझा समस्या समाधान गर्दै बजारलाई व्यवस्थित र व्यवसायिक वातावरणलाई थप सहज बनाउन आफूले भूमिका खेल्ने उहाँको भनाइ छ।

आगामी भाद्र २० र २१ गते हुने महाधिवेशनमा उम्मेदवारी दिनुभएकी चापागाईले संघका सम्पूर्ण उद्योगी–व्यवसायीलाई आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रह गर्नुभएको छ।

उहाँले भन्नुभएको छ, “पदका लागि होइन, व्यवसायीको आवाज र जिम्मेवारीका लागि मेरो उम्मेदवारी हो। व्यवसायी बलियो भए बजार व्यवस्थित हुन्छ, बजार व्यवस्थित भए संघ र समग्र पोखराको अर्थतन्त्र समृद्ध बन्छ।”

Leave A Reply

Your email address will not be published.