सुचना, समाचार र मनोरन्जन

भारतको नीतिगत कडाइले मुख्य सिजनमै नेपाली चिया निर्यात ठप्प

भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण ९ल्याब टेस्ट० अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ ।

भारतको नीतिगत कडाइका कारण वार्षिक पाँचदेखि छ अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो सङ्कटमा परेको व्यवसायीले बताएका छन् । नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गएको वैशाख १८ गतेदेखि लागू हुने गरी नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर ९एसओपी०’ जारी गरेको हो । नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ । अहिले चिया निर्यातको मुख्य सिजन हो । उहाँकाअनुसार अहिले झण्डै पाँच लाख किलो चिया निर्यातका लागि तयारी अवस्थामा छ । तर भारतीय पक्षको नयाँ र कडा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ लैजान सकेका छैनन् ।

दुई हप्ताभन्दा लामो समयदेखि एक पोका चिया पनि निर्यात हुन नसकेको अध्यक्ष पराजुलीले बताउनुभयो । यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एक पटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि त्यही प्रमाणपत्रका आधारमा १५ दिनसम्म १० ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो । तर, नयाँ नियमअनुसार काँकडभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानीट्ङ्की भन्सार प्रवेश गर्ने बित्तिकै हरेक ट्रकको चियाको नमुना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनुपर्ने भएको छ । प्रतिट्रक नमुना परीक्षणका लागि १८ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने त्यसको प्रतिवेदन आउन कम्तीमा १४ दिन लाग्ने हुन्छ ।

भारतीय प्रयोगशालाले १४ दिनभित्र अनलाइन रिपोर्ट प्रविष्ट गर्ने र यदि परीक्षण असफल भएमा त्यो चियालाई भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउनसमेत नदिई जफत गरिने कडा प्रावधान राखिएको छ । यो नियम संशोधन नभए नेपाली चियाको भारत निर्यातको ढोका बन्द हुने अवस्था आएको चिया व्यवसायीले बताएका छन् । नेपाली चियाको मुख्य बजार भारत हो । चिया क्षेत्रमा देखिएको गैरभन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग अविलम्ब ‘जिटुजी’ संवाद थाल्नुपर्ने नेपाल चिया उत्पादक सङ्घको माग छ ।

नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चिया विश्व बजारमा गुणस्तरका लागि लोकप्रिय मानिन्छन् । तर, प्रमुख बजार भारतमै नीतिगत अवरोध सिर्जना हुँदा किसानदेखि ठूला उद्योगीसम्म र यसमा आश्रित लाखौँ श्रमिकको जीविकोपार्जन सङ्कटमा परेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ मा २० हजार ६०२ हेक्टर भूभागमा रहेको चिया बगानबाट दुई करोड ६१ लाख २३ हजार १११ किलो तयारी चिया उत्पादन भएको थियो ।

नेपालबाट २०८१÷८२ मा चार अर्ब ५९ करोड आठ लाख ५६ हजार मूल्य बराबरको चिया निर्यात भएको थियो । चिया उत्पादनमा १५ हजारभन्दा धेरै साना किसान प्रत्यक्ष सहभागी छन् । एक लाख श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.