सुचना, समाचार र मनोरन्जन

‘जार’ अमेरिकासहित विभिन्न देशमा एकसाथ रिलिज

काठमाडौं :

नेपाल र भारतमा गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘जार’ मध्यपूर्वका देशहरूमा समेत प्रदर्शनमा आएको छ। निर्माण कम्पनी फेरि टेल पिक्चर्सले युएई, कतार र बहराइनमा बिहीबारबाट फिल्मको प्रदर्शनी शुभारम्भ भएको जानकारी गराएको छ।

निर्देशक फुर्वाछिरिङ लामाले युएईका सहरहरू दुबई, अवुधावी, अज्मान र सारजाहका स्थानीय हलहरूमा फिल्म प्रदर्शनमा आएको बताए। यस्तै कतारको दोहा, बहराइनको मनामा लगायतका सहरहरूमा ‘जार’ एकसाथ प्रदर्शनीमा आएको हो। शुक्रवारबाट यो फिल्म युएसए, युके,अष्ट्रेलिया,क्यानडा,साउथ अफ्रिकासँगै युरोपका विभिन्न देशहरूमा फिल्मको प्रदर्शनी तय भएको निर्देशक लामाले बताए।

‘नेपाल र भारतमा हाम्रो फिल्म हेर्ने जति पनि दर्शक हुनुहुन्छ उहाँहरूले र फिल्म समीक्षकहरूबाट प्राप्त प्रतिक्रियाले उत्साहित छौँ,’ लामाले भने,‘डायस्पोरामा रहनुभएका नेपाली कला प्रेमीहरूबाट पनि सोही प्रकारको प्रेम र सद्भावको अपेक्षा छ।’

यो फिल्मले सार्वजनिक प्रदर्शनयता नेपाल र भारतमा उत्कृष्ट समीक्षा पाएको छ। वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्मले २ सय वर्ष पुरानो नेपाली समाजको वास्तविक कथा बोल्छ। फिल्ममा अभिनेताद्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख अभिनयमा छन्।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको छ। फिल्म ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ। फिल्म ‘जार’ नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेको छ।

Leave A Reply

Your email address will not be published.