काठमाडौं :
भोलीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘के घर के डेरा : घर नं २’को गीत सार्वजनिक भएको छ। निर्माणपक्षले सिनेमा रिलिजको अघिल्लो दिन फिल्ममा समावेश ‘ढुंगा देउता भयो’ बोलको गीत सार्वजनिक गरेको हो।
फिल्मका लेखक बुद्धिसागरको शब्द रचनामा तयार भएको यस गीतलाई संगीत निश्चल बस्नेतले दिएका छन् भने गायन सलिन मगरको छ। फिल्मको कथा भन्ने गीत शान्त तर अर्थपूर्ण कुरा गर्छ।
संघर्ष र चोटहरूले नै व्यक्तिलाई बलियो बनाउने बिम्बका रूपमा ढुंगा र देउतालाई ल्याइएको छ। काब्यात्मक गीतले सिनेको स्तर झल्काउँछ। सपना नै जिन्दगी जिउने आधार बन्ने यथार्थलाई गीतले उजागर गरेको छ।
गीतको भिडियोका मुख्य कलाकार केकी अधिकारी, निश्चल बस्नेत, खगेन्द्र लामिछाने र लेखक बुद्धिसागर फिचर्ड छन्। दीपेन्द्र के खनालले निर्देशन गरेको यो फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित,संजोग रसाइली, रुविना घिमिरे,सुरज विष्टलगायत कलाकारलगायतले अभिनय गरेका छन्।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यो फिल्मका छायांकन कृष्णबहादुर थापाले गरेका छन्। फिल्मका कार्यकारी निर्माताको रूपमा युवराज कार्की रहेका छन् भने निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।