सुचना, समाचार र मनोरन्जन

सरकारले आज विविधता दिवस मनाउँदै

ललितपुर/

‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको छ । कृषि विभागले यहि माघ पहिलो साताभर विविध कार्यक्रम आयोजना गरी तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको हो ।

२०७९ साल भदौ २७ गते मन्त्रिपरिषद्बाट प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णयबमोजिम यो वर्ष पनि कृषि विभागले विविध कार्यक्रम गरी दिवस मनाउन लागेको सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

माघको पहिलो साताभर मनाइने उक्त दिवसले नेपालमा परम्परागत रूपमा रहेका अनेकौँ जातजाति, धार्मिक एवं संस्कृतिक परम्परासँग सम्बन्धित कृषि र खानाका परकार तथा सम्बद्ध सीपको जगेर्ना गर्न मद्दत पुर्‍याउनुका साथै स्थानीय कृषि आनुवंशिक स्रोतहरूको संरक्षण एवं दिगो उपयोग, वातावरण संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताए।

कृषि जैविक विविधताको महत्वसहित यसको संरक्षणबारे जनचेतनामूलक कार्यक्रमको आयोजना गरिनुका साथै प्रादेशिक निकाय, स्थानीय तहलगायत सरकारी तथा गैरसरकारी संस्थालाई कार्यक्रम सञ्चालन गरी दिवस मनाउन पत्राचार गरिएको उनले जानकारी दिए ।

यसको महत्वबारे सर्वसाधारणमा जनचेतना जगाई दिगो संरक्षण तथा उपयोगमा टेवा पुर्‍याउने, तीनै तहका सरकारको विकास, नीति एवं कार्यक्रममा कृषि जैविक विविधतालाई मूल प्रवाहीकरण गर्ने, दिगो रूपमा कृषि जैविक विविधता संरक्षण र उपयोगका लागि उपयुक्त विधि एवं पद्धतिहरूको विकास, अवलम्बन प्रक्रियालगायत उद्देश्यसहित दिवस मनाइने विभागका महानिर्देशक सञ्जेलले उल्लेख गरे ।

जैविक विविधतामा आधारित रहेर कृषि आनुवंशिक स्रोतहरू, कृषिबाली एवं सम्बन्धित जङ्गली प्रजाति, घाँसेबाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक स्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सुक्ष्म जीव र कृषकका परम्परागत ज्ञानको संरक्षणमार्फत स्वस्थ जीवनयापनका लागि उपयुक्त पर्यावरण बनाउन सचेतना अभिवृद्धिसहित सप्ताहव्यापी रूपमा विविध कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । दिवस मनाउन सातै प्रदेश मातहतका निकाय र सबै स्थानीय तहका कृषक समूहलगायत सरोकार भएका निकायलाई कृषि विभागले आह्वान गरेको छ ।

Leave A Reply

Your email address will not be published.