काठमाडौं :
फिल्म ‘बा : एक योद्धा’को शीर्ष गीत सार्वजनिक भएको छ। निर्माण पक्षले आज फिल्मको शीर्ष गीत सार्वजनिक गरेको हो। गीतमा सञ्जीव थापाको शब्द, हरि लम्सालको संगीत र स्वर छ। ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतले आफ्नो धरातल नबिर्सन आग्रह छ। रुख र जराको नाता तथा माटो र पानीको साथ टुट्यो भने त्यसको अस्तित्व नरहने सन्देश दिने गीतले आफ्नो जन्म दिने बुवाआमा र जन्मिएको माटो नबिर्सन अपिल गर्छ।
जति सुकै ठूलो सफलता हात पारे पनि आफ्नो विगत भूल्ने हो पहिचान नै नरहने भन्दै गीतले आफ्ना, आफन्त र आफ्नो भूमि नै सबैभन्दा माथि हुने प्रस्ट पारेको छ । गीतको ओजपूर्ण शब्द र मर्मस्पर्शी भावले सिनेमाले भन्ने खोजको कथा र दिन खोजेको सन्देशको सार संक्षेप बताउँछ। जन्मदिने बुवाआम र जन्मिएको घरलाई माया नमार भन्ने सन्देश फिल्मले दिने शीर्ष गीत सुनेर आंकलन गर्न सकिन्छ।
गीतमा फिल्मका मुख्य पात्रत्रय दिव्यदेव, सुहाना थापा र झरना थापासहित अन्य कलाकारलाई देख्न सकिन्छ। बच्चा हुर्काउँदादेखि उनीहरू पराई घर र पराई भूमिमा जाँदासम्मको समय र एक्लो भएको बुवाको पीडासम्म गीतको भिडियोमा समेटिएको छ।
फिलम आगामी भदौ १९ गते रिलिज हुँदैछ भने फिल्मले नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू झेल्ने बाको मुख्य कथा रहेको छ। फिल्ममा दिव्यदेव, झरना र सुहानासँगै माओत्से गुरुङ,अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको यस फिल्ममा उनी आफैले कथा तथा पटकथा लेखेका छन्। यस फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। फिल्मका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह(निर्माता कृष्ण काफ्ले रहेका छन् ।
शिवराम श्रेष्ठको छायाकंन रहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन्। फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।