सुचना, समाचार र मनोरन्जन

मुकुन, जानुका, श्रीकृष्ण र मेनुकाको प्रेम पहेली ‘लज्जावती’

काठमाडौं :

फिल्म ‘लज्जावती’को ट्रेलर सार्वजनिक भएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा प्रेममा हुने माया, धोका, विछोडपछि जीवनमा आइपर्ने संघर्ष र उतारचढाव प्रस्तुत गरिएको छ। जसलाई निर्देशकले दुई प्रेमिल जोडीको प्रेमकथामार्फत देखाएका छन्। फिल्ममा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखाइएको छ भने श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेमिल जोडीका रूपमा प्रस्तुत भएका छन्। कथा यिनै पात्रहरूको जीवन वरिपरि घुमेको छ।

सुरुवातमा निकै रमाइलो देखिने उनीहरूको पारिवारिक सम्बन्ध र मित्रता समयसँगै विभिन्न कठिनाइ, अभाव र सामाजिक दबाबका कारण जटिल मोडमा पुगेको ट्रेलरमा देखाइएको छ।

यही २९ साउनदेखि प्रदर्शनमा आउने फिल्मका निर्देशक राजबहादुर साने हुन्। निर्देशक सानेकाअनुसार फिल्मले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव र संघर्षलाई प्रस्तुत गरेको छ। फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलले अभिनय गरेका छन्।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको यस फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्। त्यस्तै, सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ। दिव्यराज सुवेदीको छायांकन रहेको फिल्म कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.