सुचना, समाचार र मनोरन्जन

नीर शाह निर्देशित फिल्म ‘कमला मिस’को ट्रेलरमा शिक्षकको संघर्ष र मानवीय सम्बन्धको कथा

काठमाडौं :

यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कमला मिस’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले प्रचारप्रसार स्वरुप फिल्मको टिजर रिलिज गरेको हो।

सार्वजनिक ट्रेलरले शिक्षा, संघर्ष, मानवीय सम्बन्ध र एक शिक्षकको जीवन तथा भूमिकालाई केन्द्रमा राखिएको कथावस्तुको झलक प्रस्तुत गर्छ। भावुक दृश्य, प्रभावशाली संवाद र कलाकारहरूको सशक्त अभिनयले ट्रेलरलाई आकर्षक बनाएको छ। साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित मनोवैज्ञानिक कथावस्तुमा आधारित यस फिल्मलाई वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशन गरेका हुन्।

फिल्ममा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूले अभिनय गरेका छन्।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्मका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने पुष्कर लामा लाइन प्रोड्युसर हुन्। फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।

फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन, किरण तुलाधरको पृष्ठभूमि संगीत, मुकेश शाहको साउन्ड मास्टरिङ तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन्।

Leave A Reply

Your email address will not be published.