सुचना, समाचार र मनोरन्जन

झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित

दमौली/

तनहुँको घिरिङ गाउँपालिका–२ र ३ जोड्ने चिन्नेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । यहाँ पुल नहुँदा यस भेगका जनताहरुले घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो । पुल निर्माणले यात्रा सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताए ।

रु ४५ लाख ६८ हजार १९२ को लागतको पुल निर्माणका लागि गैरसरकारी संस्था समन्वय समिति तनहुँले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । उक्त संस्थाका महासचिव राजेश्वर हड्खलेले पुल निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख ९५ हजार ९८५ सहित लागत साझेदारी गरेको जानकारी दिए ।

त्यस्तै, स्थानीयवासीले रु ८९ हजार दुई सय ४२ बराबरको श्रमदान गरेका थिए । सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममार्फत रु ३८ लाख ६७ हजार सात सय ७३ विनियोजन भएको थियो । पुल निर्माणका लागि उपभोक्ता समितिसँग रु २०८१ वैशाख १६ गते सम्झौता भएको थियो ।

विसं २०८१ कात्तिक १५ गतेबाट पुल निर्माण सुरु गरिएको र विसं २०८२ असार १५ गतेसम्म म्याद रहेकामा म्यादअगावै पुल निर्माणको काम सकिएको हड्खलेले बताए । पुल निर्माणपश्चात् एक सय १८ घरधुरीका नौ सय ५४ जना लाभान्वित भएका छन् ।

चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति

तनहुँको भानु नगरपालिका–१२ स्थित भिसी शेरबहादुर मोटरमार्गको चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति थालिएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालयको बजेटबाट उक्त खण्ड स्तरोन्नति थालिएको हो ।

सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु एक करोड बजेटमा उक्त खण्डअन्तर्गत ढुङ्गेधारा घुम्तीबाट ४७० मिटर कालोपत्रसहित आवश्यक संरचना निर्माण भइरहेको वडा सदस्य सुदीप केसीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.