कचनकवलदेखि सुरु भएको यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी हुँदै , ओखलढुंगा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडाहुँदै सुर्के, फाक्दिङहुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्प क्याम्पसम्म पुग्छ। त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ (साउथकोल), हिलारी स्टेप हुँदै शिखरमा पुगेर यात्रा सम्पन्न हुनेछ।
‘मानिसको जीवन पनि जिरोबाट सुरु हुन्छ र बिस्तारै बाल्यकाल, किशोरावस्था, वयस्क हुँदै अघि बढ्छ। यो यात्रा मानव जीवनको एउटा यात्राको संकेत पनि हो ।’ झन्डै ५ सय १० किलोमिटर दूरीको पदयात्रा पूरा गर्न झन्डै ९० दिन लागेको पनि उनले बताए। निर्देशक निरञ्जन पाण्डेले देशका लागि केही गरौं भन्ने हुटहुटीले वृत्तचित्र निर्माणमा प्रेरित गरेको बताए।
‘हामी लामो समय नेपालको सिर्जनात्म क्षेत्रमा काम गरेर हाल अमेरिकामा बस्ने साथीहरुले देशका लागि मिलेर केही गरौं भनेर लामो समयदेखि सोचेका थियौं। त्यसक्रममा देशलाई चिनाउनेगरी यो अवधारणा अघि सार्न सफल भयौं। टेण्डी शेर्पा, पुस्कार शाहलगायत व्यक्तित्व हामीसँग जोडिनुभयो। अब यस वृत्तचित्रलाई अमेरिकाका सबै राज्यमा लगेर देखाउने, त्यसपछि युरोप र अष्ट्रेलिया तथा एशियाका अन्य देशमा देखाएर नेपालका हलहरुमा सार्वजनिक गर्ने हाम्रो सोच छ। यसलाई हामीले देश चिनाउने माध्यमका रुपमा सोचेका छौं। विश्वमा कहीँ संभवन नभएको एक मात्र जिरो टु ८८४८ को अवधारणा ल्याउन सफल भएका छौं । यस पदमार्गलई विकास गर्न सके हाम्रो देशको पर्यटन फस्टाउनेछ र देशलाई विश्वभर चिनाउन सकिनेछ र समृद्धीको एउटा आधार खडा हुनेछ,’ उनले भने।
जलवायु परिवर्तन अध्ययनका लागि पनि यस गन्तव्य विशिष्ट हुने उनले बताए। त्यस्तै भूगर्भ पर्यटनको अध्ययन केन्द्र समेत बन्नसक्ने धारणा राखे । वृत्तचित्रलाई निर्देशकद्वय निरन्जन पाण्डे र बलराम बुढाथोकीले मिलेर सम्पादन तथा छायाँकन गरेका हुन्। श्री वाग्ले कार्यकारी निर्माता रहेको वृत्तचित्रमा उमंग शाही सहायक छाँयाकार छन्। त्यस्तै प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन्। वृत्तचित्रमा समावेश सगरमाथा शिखरका दृश्य सुजन गुरुङ र दोजी शेर्पाले छायाँकन गरेका हुन्। उनीहरु दुबै यसका लागि शिखरमा पुगेका थिए।