सुचना, समाचार र मनोरन्जन

सोम बज्राचार्य स्मृति सङ्गीत पुरस्कार रामभक्तलाई

कास्की : पोखरेली युवा सांस्कृतिक परिवारले गीत सङ्गीतमा क्रियाशील स्रष्टालाई दुई दुई वर्षमा प्रदान गर्ने सोम बज्राचार्य स्मृति सङ्गीत पुरस्कार २०८० बाट यस वर्ष वरिष्ठ गाएक एवम् सङ्गीतकार रामभक्त जोजिजूलाई पुरस्कृत गर्ने भएको छ ।

पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाइ गीत सङ्गीतका क्षेत्रमा विगत तिन दशकदेखि गायन क्षेत्रमा क्रियाशील रामभक्त जोजिजूले २०५१ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरी ‘समाल ती पाइलाहरू’ बोलको गीत रेर्कड गराएका थिए । २०५५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा ‘उडेर जुन छुन्छु भन्थे’ गीत गाएर उनी प्रथम भए । यो गीतले उनको परिचयलाई फराकिलो बनाएको थियो ।

Gandarbha

मञ्जुश्री सङ्गीत महाविद्यालयमार्फत इलाहावादबाट सङ्गीत शिक्षा लिएका जोजिजूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साङ्गीतिक कार्यक्रममा आफ्नो प्रतिभा देखाइ सकेका छन् । निरन्तर लगाव र महत्वपूर्ण योगदान दिएका उनले थुप्रै अवार्ड र पुरस्कार पाइसकेका छन् । नेपाली गीत सङ्गीतको क्षेत्रमा उनले दिएको योगदानको कदर स्वरूप सोम बज्राचार्य स्मृति सङ्गीत पुरस्कार प्रदान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक एवम् पोयुसाँपका सल्लाहकार कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।

गायक तथा सङ्गीतकार सोम बज्राचार्यको स्मृतिमा उनकी धर्मपत्नी शान्ति बज्राचार्यले अक्षयकोष खडागरी पोयुसाँपद्धारा सञ्चालित यो पुरस्कारबाट यस अघि बिमा कुमारी दुरा, श्यामसुङ तामाङ, नवराज बराल, पेनबाबु थापा, सुनिल थापा, कर्ण दास र श्यामलाल श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा यही आगामी माघ ५ गते शनिबार नगद, ताम्रपत्र र दोसल्लासहित पोखरामा पुरस्कार प्रदान गरिने परिवारकी अध्यक्ष रीता अधिकारीले जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.