सुचना, समाचार र मनोरन्जन

पोखरामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

पोखरा,

महिला अधिकारको संरक्षण, लैङ्गिक हिंसाको अन्त्य र समानतामूलक समाज निर्माणको उद्देश्यसहित जोन्टा क्लब अफ पोखराले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानअन्तर्गत जनचेतना, नाट्य प्रस्तुति, अन्तरक्रिया, दौड तथा हिंसापीडित महिला र बालिकासँग ऐक्यबद्धतासहितका कार्यक्रम आयोजना गरिने क्लबले जनाएको छ ।

अभियानको पहिलो दिन पोखराको चिप्लेढुङ्गा बस स्टपमा सार्वजनिक सचेतना कार्यक्रम आयोजना गरिएको थियो । अभियानअन्तर्गत नोभेम्बर २६ मा गैह्रापाटनस्थित पोखरा नाटकघरमा ‘योगमाया’ नाटक प्रस्तुत गरिनेछ ।

नाटक प्रस्तुतिसँगै बालविवाह अन्त्य, लैङ्गिक हिंसा न्यूनीकरण तथा एकल महिलाको अधिकार र अवस्थाबारे प्यानल छलफलसमेत आयोजना गरिने कार्यक्रम छ ।

Pach Pandav

त्यस्तै, नोभेम्बर ३० मा पोखरास्थित प्रहरी तालिम केन्द्रमा लैङ्गिक हिंसाविरुद्ध कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । सोही अवसरमा तीन वर्षसम्म पुग्ने सेनेटरी प्याड वितरण गर्ने योजना रहेको छ ।

डिसेम्बर ५ मा वसुन्धरा पार्क, लेकसाइडमा 1% Tribe Run Club सँगको सहकार्यमा ‘Run for Her – 5K: Unite Against Violence’ दौड आयोजना गरिनेछ ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा डिसेम्बर १० मा कोपिला नेपाल महिला आश्रय केन्द्रमा आश्रित महिला तथा बालिकासँग ऐक्यबद्धता जनाउँदै अभियानको समापन गरिनेछ ।

जोन्टा क्लब अफ पोखराकी सन् २०२६ की अध्यक्ष नेलिशा ठकुरी केसीले लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, महिला सशक्तीकरण र अधिकार संरक्षणका लागि क्लब निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

सुरक्षित, समान र हिंसामुक्त समाज निर्माणका लागि सबैको साझा आवाज र सामूहिक प्रयास आवश्यक रहेको अभियानले सन्देश दिएको छ ।

Leave A Reply

Your email address will not be published.