सुचना, समाचार र मनोरन्जन

घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’

 

पाल्पा : बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो। गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित भए पनि उनकोअनुहार भने जहिल्यै हँसिलो हुन्छ।

 

हुम्लाको कनका सुन्दरी गाउँपालिका-८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहेका छन्। हरेक दिन ढाका टोपी, इष्टकोटमा सजिएर पिठ्युँमा राडीपाखी, गलैँचा बोकेर गाउँगाउँमा पुग्छन्। जुम्लामा उत्पादन भएका राडीपाखी, गलैँचा, स्वीटर बोकेर गाउँका बस्तीमा व्यापार गर्नु उनको दिनचर्या हो।

 

उमेरले पाँच दशक नाघेका काफ्लेलाई घुमन्ते व्यापारले अझै छोडेको छैन। उनी आफूले घुमन्ते व्यापार रहरले नभई बाध्यताले गरेको बताउँछन्।

 

अहिले उनी पाल्पाको रामपुरमा कोठाभाडा लिएर यस आसपासका स्थानमा व्यापारका लागि पुग्छन्। उनले शुरुमा करिब पाँच वर्षजति भारतको अलमुढा, नैनताल, बागेश्वर, गढवाल, हिमाञ्चल, पिथरागढ, चम्पाव, डिडिहाटलगायत बजारमा राडीपाखीको व्यापार गरे।

 

नेपाल फर्किएपछि उनी पोखरा, पर्वतको कुश्मा, बुटवल, तानसेनलाई व्यापारको केन्द्र बनाएका छन्। तानसेनमा व्यापार गर्ने क्रममा उनी रामपुर आएका हुन्। ‘तानसेनमा व्यापार अलि कम हुन थाल्यो, तानसेनका एक जना बुबाले रामपुर ग्रामीण भेग भएकाले व्यापार व्यवसाय कम छ, त्यहाँका गाउँगाउँमा राम्रो व्यापार हुन्छ’, उनले भने, ‘म त्यही आशामा २०६८ सालतिर रामपुर आएर व्यापार शुरु गरेको हुँ, अहिलेसम्म पनि यहीँ निरन्तर लागिरहेको छु।

 

रामपुरमा सुरुआतमा राम्रो व्यापार भए पनि पछिल्ला वर्षमा भने व्यापार घटेको उनको भोगाइ छ। रामपुरमा व्यापारिक पसल बढ्दै जादा घुमन्ते व्यापारमा असर पुगेको उनको अनुभव छ। पछिल्लो समय गाउँघरमा हुने मेला महोत्सवले गर्दा पनि व्यापारमा कमी आएको उहाँको बुझाइ छ। उनको मुख्य व्यापार भनेको राडीपाखी हो। तर अहिले बढीमात्रामा गलैँचा र तन्नाको व्यापार हुन्छ।

 

गाउँमा कहिलेकाहीँ आउने व्यापारीले स्थानीयलाई ठग्दा आफूहरू जस्ता घुमन्ते व्यापारीप्रतिको विश्वास कम भएको उनको अनुभव छ। सुरुआती दिनमा गाउँगाउँमा पुग्दा डर, धम्की भोग्नुपरे पनि अहिले त्यसो नभएको उनी बताउँछन्।

 

Pach Pandav

‘सबैले आफ्नै परिवारको सदस्यको व्यवहार गर्नुहुन्छ, राम्रोसँग चिन्नुहुन्छ, चलेको दरभाउअनुसार व्यापार गरिरहेको छु, दुई पैसा अहिलेसम्म ठगेर व्यापार गरेको छैन’, उनले भने, ‘सबैको माया र साथ पाएको छु, यहाँ बस्न ढुक्क छ, कसैको डर, धम्की छैन, त्यही भएर अन्यत्र ठाउँको तुलनामा रामपुरमा धेरै समय बसिरहेको छु।’

 

पहिले दिनमा २० हजारसम्म कमाई गर्ने गरेकामा अहिले व्यापार घटेर दिनमा बढीमा चार हजार जति कमाइ हुने गरेको उनी बताउँछनन्। ठूलो सपना छैन, सामान्य खाना, लाउन पुगेकामा यसमै खुसीका साथ जीवन बिताइरहेको उनले बताए। उनी राडीपाखीका सामान जुम्लाबाट खरिद गरेर ल्याउँछन्। अन्य सामान काठमाडौँबाट खरिद गरी ल्याउँछन्।

 

उनी राडीपाखी लिन उहाँ चार-चार महिनामा जुम्ला जान्छन् काठमाडौँमा महिनामा एक पटक पुग्छन्।। राडीपाखी विशेषगरी पूजाआजामा प्रयोग गरिने भएकाले बजारका सामानभन्दा राडीपाखी नै ग्राहकले रोज्ने गरेको उनले बताए। राडीपाखी भेडाको ऊनबाट बनेको हुनाले पूजाआजाका लागि चोखो हुन्छ भन्ने विश्वास छ।

 

काफ्लेको परिवारमा श्रीमती, एक छोरी, दुई छोरा छन्। उनीहरूको पालनपोषण, पढाइ खर्च काफ्लेको काँधमा छ। एक व्यक्तिको घुमन्ते व्यापारको कमाइले परिवारको गुजारा अहिलेसम्म चलेको उनी बताउँछन्।

 

जेठो छोरो स्नातक अध्ययन पूरा गरी अहिले लोकसेवा आयोगको तयारीमा छन्। कान्छो छोरो एसइई उत्तीर्ण गरेपछि वैदेशिक रोजगारीका लागि कोरियन भाषा पढ्दैछन्। छोरी कक्षा ११ मा गाउँकै स्कुलमा अध्ययनरत रहेको उनले बताए।

 

‘अहिले छोराछोरी हुर्केबढेसँगै परिवारको खर्च बढ्दै गयो, थोरै खर्चले धान्न मुस्किल छ, व्यापार भने पहिलाको तुलनामा घट्दैछ। एक व्यक्तिको कमाइले जीविका चलाउन हम्मेहम्मे परेको छ, बाध्यताले गाउँगाउँमा राडीपाखी, गलैँचालगायतका कपडा बोकेर व्यापारमा हिँडेछु’, उनले भने।

 

कक्षा १० सम्म पढेका काफ्ले आफूले दुःख गरेरै भए पनि छोराछोरीको उज्ज्वल भविष्य बनाउने सपना बुनेर गाउँगाउँमा व्यापारमा खटेका छन्। अहिले उहाँले रामपुरका अलवा पाल्पाकै पूर्वखोला, रम्भा, बगनासकाली गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, मालुङ्गा, मिर्मी, बयरघारी, वालिङ, चिन्नेबास, गल्याङका गाउँसम्म व्यापार गर्छन्।

 

घुमन्ते व्यापारमा उनको साथमा पहिला दुई÷तीन जना साथी थिए, अहिले भने उनी एक्लै छन्। उनीसँगै व्यापार गर्नेहरू पछिल्ला समय सन्तोषजनक व्यापार नभएपछि यो व्यवसाय छाडेर गएका छन्। लामो समयसम्म रामपुरमा व्यापार गर्दै आएका काफ्लेले अब अर्घाखाँची र गुल्मी जिल्लामा पुगेर व्यापार गर्ने सोच बनाएका छन्।

 

काफ्लेको गाउँ जुम्लाबाट व्यापार गर्ने थलो पाल्पा रामपुर आउन वा रामपुरबाट जुम्ला जान एकतर्फी मात्रै तीन दिनको यात्रा गर्नुपर्छ। जुम्लाबाट शुरु गरेको यात्रा कालिकोट, दैलेख, सुर्खेत, कोहलपुर र बुटवल हुँदै पाल्पा रामपुर आइपुगिन्छ। त्यहाँबाट सामान यहाँसम्म ढुवानी गर्न सहज छैन।

Leave A Reply

Your email address will not be published.