सुचना, समाचार र मनोरन्जन
Sarangi

वास्तविक कलाकारलाई मिडियामा स्थान दिन महिला कलाकारको आग्रह

काठमाडौं :

१२ औ नेपाल अफ्रीका फिल्म फेस्टिभलमा मिडियामा महिला कलाकारको स्थान बिषयमा छलफल गरिएको छ। शनिबारको बहस कार्यक्रममा यो मिडियामा महिला कलाकारको स्थान बारे छलफल भएको थियो।

बहसमा अभिनेत्री गौरी मल्ल, कलाकार सरिता लामिछाने, गायिका निशा देसार, संचारकर्मी तथा निर्देशक संगीता श्रेष्ठ सहभागी थिए । बहसमा महिला कलाकारहरुले मिडिया पाउने स्थान र मिडियाले बनाउने गसिपहरुको बारेमा चर्चा गरिएको थियो।

छलफलमा चलचित्र पत्रकार संघ नेपालका महासचिव रघुनाथ सापकोटाले सहजीकरण गरेको कार्यक्रममा बोल्दै अभिनेत्री गौरी मल्लले आफुले सुरु सुरुमा काम गर्दा पत्रपत्रिकामा आएका समाचारले छुट्टै प्रभाव पर्ने गरेको स्मरण सुनाईन् । पहिलाको जस्तो मिडियाको महत्व र प्रभाव आजकाल कम भएको उनको कथन थियो ।

उनले भनिन्,‘पहिलेको मिडिया र अहिले डिजिटलमा प्रबेश गरे पछि धेरै फरक भएको छ । यसको फाईदासँगै बेफाईदा पनि छन् ।’

कार्यक्रममा बोल्दै कलाकार सरिता लामिछानेले पहिले र अहिलेको मिडिया र कभरेज फरक परेको र अहिले भाइरलको पछि सबै लागेको र भाइरलले दिगो रुपमा कसैलाई फाइदा नपुग्ने बताइन् । भाइरल भन्दा यो क्षेत्रमा निरन्तर काम गरिरहेका कलाकारलाई मिडियाले स्थान दिनुपर्ने उनको सुझाब थियो ।

संचारकर्मी तथा निर्देशक संगीता श्रेष्ठले आफुले मिडियामा काम गर्दै गर्दा आफुले चाहे अनुरुप कलाकार लाई स्थान दिन नपाइने र मिडियाको नीति अनुसार चल्नु पर्ने बताइन् । मिडियाले पनि पछिल्लो समय आफ्नो दायित्व विर्सन थालेको उनको कथन थियो ।

गायिका निशा देशारले मिडियाको प्रभाव निकै राम्रो हुने गरेको स्मरण सुनाईन्। आफुले दुई दशक अघि रेडियोमा उत्कृष्ट गायिकाको पुरस्कार जितेपछि आएको समाचारको आधारमा आफुलाई धेरैले बोलाएर गीत गाउने अबसर दिएको उनले सुनाए । सो बहस कार्यक्रममा नेपाली कलाकार र मिडियाको बिषयमा यस्तो किसिमको बहस निरन्तर हुनु पर्नेमा सबैले जोड दिए ।

शुक्रबार बिहानै अफ्रिकाको चलचित्र प्रदर्शनसँगै शुरु भएको यो महोत्सबको औपचारिक उद्घाटन समारोहका प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठलगायतले महोत्सबको बुकलेट बिमोचनबाट गरेका थिए। उद्घाटन समारोहमा महोत्सब समारोहमा सहभागी चलचित्रलाई प्रमाणपत्र वितरणसँगै केही व्यक्तिहरुलाई सम्मान समेत गरियो ।

कार्यक्रममा बोल्दै अभिनेता शिब श्रेष्ठले यस्ता गतिविधमा चलचित्र क्षेत्रसँग जोडिएका सरोकारवाला संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भने,‘यस्ता महोत्सवले हामीलाई विदेशी चलचित्रकर्मीको शैली र समाजसँग साक्षात्कार गराउँछ । त्यसकारण यसमा सहकार्य र सहयोग गर्नु चलचित्रकर्मीको दायित्व हो । मेरो चलचित्र यसमा किन परेन भन्ने महसुश भएको छ ।’

महोत्सवमा १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानिया, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमैकालगायत देशका आठ चलचित्र प्रदर्शन हुने महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन् ।

Leave A Reply

Your email address will not be published.