पर्वतमा कालीगण्डकी नदीले दुई दर्जनभन्दा धेरै घर बगाएको छ। ३ दिनदेखिको लगातारको वर्षापछि गएराति कालीगण्डकीमा आएको बाढीले कुस्मा नगरपालिका( ८ फर्सेमा झण्डै २ दर्जन घर-टहरा बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर दिनेश पौडेलले जानकारी दिए।
‘शनिबार नै ती घर-टहराबाट मानिसहरूलाई अन्यत्र सारिएकाले मानवीय क्षति भने भएको छैन,’ पौडेलले नेपालखबरसँग भने, ‘कालीगण्डकीले मध्यपहाडी लोकमार्ग पनि क्षतविच्छेद बनाएको छ। अहिले यहाँ बाढीको बहाब एकदमै बढेको छ। सडक दुई ठाउँमा कालीगण्डकीको कटानमा परेको छ। धेरै ठाउँमा पहिरो खसेको छ।’
अहिले घटनास्थलमा उद्धारको लागि सुरक्षाकर्मी जानसक्ने अवस्था पनि नरहेको उनले बताए। त्यहाँको प्रहरी चौकी पनि धरापमा परेको पौडेलको भनाइ छ।
स्थानीयले धेरै वर्षपछि यस वर्ष कालीगण्डकीमा ठूलो बाढी आएको बताएका छन्। बाढीको चपेटामा परेको फर्से क्षेत्र जिल्ला सदरमुकामबाट करिव १५ किमी टाढा पर्छ।
बाढीले कुस्मा नगरपालिका(१ सहस्रधारामा मध्यपहाडी लोकमार्ग तलबाट कटान गरेर पूरै बगाएको छ। इन्सपेक्टर पौडेलले भने, ‘सहस्रधारा र जलजला(८ केराबारीमा पनि कालीगण्डकीले सडक नै बगाएको छ। धेरै ठाउँमा माथिबाट पनि पहिरो खसेर सडक अवरुद्ध छ। गाडी चल्न सक्ने अवस्था छैन।’
कालीगण्डकीमा बाढीको जोखमि बढेपछि स्थानीय प्रशासनले फर्से क्षेत्रका झण्डै १ सय घर परिवारलाई आइतबार नै नजिकैको पेट्रोलपम्प क्षेत्रमा राखेको छ।
जलजला ८ का वडाध्यक्ष हरिविकास जिसीले फर्से क्षेत्रमा अहिलेसम्म २० भन्दा बढी घर बगाइसकेको जानकारी दिए।
बाढीले प्रहरी चौकी, विद्यालय, विभिन्न कृषि फर्म तथा गोठहरू समेत बगाएको छ। बाढीले बस्ती पुर्ने मात्र नभई संरचनाहरू नै बगाएर लगेको जिसीले बताए।