नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कालीगण्डकी नदी किनारलाई धार्मिक, पर्यटकीय तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पदमार्ग निर्माण प्रारम्भ भएको छ ।
गाउँपालिकाले कालीगण्डकी किनारको बालीघाट क्षेत्रबाट पदमार्ग निर्माण थालिएको हो । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटकीय सम्भावनालाई एकसाथ जोड्दै क्षेत्रको समग्र विकास गर्ने लक्ष्यसहित पदमार्ग निर्माण थालिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो ।
“नदी किनारको सुन्दर दृश्यसँगै यहाँ रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय आकर्षणलाई एकापसमा जोड्ने उद्देश्यले पदमार्ग निर्माण थालेका हौँ”, अध्यक्ष ओझाले भन्नुभयो ।
गाउँपालिकाले दीर्घकालीन योजनाअनुसार उक्त पदमार्गलाई बालीघाटस्थित आँप बगैँचा, कालीगण्डकी किनार वर, पीपल स्वामीचौतारी, गैँडाअल्प झरना, चम्के ओडारलगायत स्थानसँग जोड्ने लक्ष्य छ ।
्
हाल ‘ट्र्याक’ खोलिएको, निर्माणलाई चरणबद्ध रूपमा अघि बढाइने र राष्ट्रिय रोजगार कार्यक्रममार्फत जनशक्ति परिचालन गरी पदमार्ग निर्माणलाई अझ व्यवस्थित बनाइने जनाइएको छ ।