सुचना, समाचार र मनोरन्जन

बिक्रम जोशीको ‘कामा’ युके र आयरल्याण्डका २६० हलमा एकसाथ

काठमाडौं :

निर्देशक भीमसेन लामा निर्देशीत ब्रिटिश फिल्म ‘कामा’ युके र आइरल्याण्डमा एकसाथ प्रदर्शन हुने भएको छ। मार्च ७ मा २६० बढी सिनेमा घरमा प्रदर्शन हुने फिल्म सस्पेन्स, एक्शन र थ्रिलले भरिएको बताइन्छ।

युकेका बिभिन्न स्थानमा खिचिएको फिल्ममा बिश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको छ। फिल्मको ट्रेलरले दर्शकको मन जितिरहेको छ। फिल्ममा हलिउड कलाकार म्याट वेकफोर्डनट,जेमिमा टोम्स,मिया बेनेट,साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा नेपाली अभिनेता टंक धमला मुख्य भूमिकामा अभिनीत छन्। विक्रम जोशी कार्यकारी निर्माता, हिराल जोशी निर्माता र एमजी अमीन र ईश्वर श्रेष्ठ सहनिर्माता रहेको फिल्मको कथा स्व। बिसारद बस्नेतको हो भने स्क्रिप्ट हिराल जोशी, विक्रम जोशी र लक्ष्मण सुवेदीले लेखेका हुन्।

अन्तराष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको ‘कामा’ ले इटलीमा सम्पन्न मिलान इन्टरनेशनल फिल्म मेकर फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म,सर्वोत्कृष्ट स्क्रिप्ट,सर्वोत्कृष्ट अभिनेता र सर्वोत्कृष्ट अभिनेत्रीको चार अवार्ड जितेको थियो। त्यसैगरी,म्याड्रिड इन्टरनेशनल फिल्म फेष्टिभल–२०२४ मा सर्वोत्कृष्ट अभिनेता,सिनेमाटोग्राफर र सहअभिनेताको अवार्ड जितेको थियो। थुप्रै फेष्टिभलमा नोमिनेशनमा परेको छ।

लामो समयदेखि युकेमा बसोबास गर्दै आइरहेका अभिनेता,निर्माता बिक्रम जोशीले यसअघि ‘पासवर्ड’,‘ह्याप्पी डेज’,‘हेलो जिन्दगी’ र ‘द सिक्रेट अफ राधा’ फिल्म निर्माण गरिसकेका छन्। ‘कामा’ छिट्टै अमेरिका,अष्ट्रेलिया,क्यानडालगायतका देशका हलमा तथा केही समयपछि हिन्दीमा भारत र नेपालीमा नेपालका हलमा प्रदर्शन गरिने निर्माण टिमले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.