कास्की :
अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल यही पुस ९ गतेदेखि पोखरामा सुरू हुने भएको छ। नेपालकै पहिलो मानिएको यो फेस्टिलमा देश तथा विदेशीको समेत सहभागीता रहनेछ। बेलुन नेपाल प्रालिको आयोजनामा पोखराको पामे फाँटमा हुन लागेको फेस्टिभलमा नेपालसहित २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहने बताइएकोछ।
क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको फेस्टिभल सन् २०२५ को पहिलो दिन १ जनवरीसम्म चल्नेछ। फेस्टिभलका इन्टरनेसनल संयोजक रोबर्ट विकका अनुसार महोत्सव पामे क्षेत्रको लौरूकदेखि चङ्खपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुनेछ। यो फेस्टिभलमा सहभागी हुन अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिनेछन्।
आयोजक कम्पनीका प्रबन्ध निर्देशक एवं फेस्टिभल संयोजक सविन महर्जनले फेस्टिभलमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र खेल समेत हुनेछन्। फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरूले हट एयर बेलुनको उडान गर्ने छन्। एक सातासम्म चल्ने महोत्सवमा करिब पाँच सय व्यावसायिक उडान हुने छन्।
आयोजकले तीन हजार जनालाई उडान भराउने लक्ष्य लिइएको छ। महोत्सवमा करिब तीन सय वटा गैर व्यावसायिक उडान हुनेछन्। फेस्टिभलका अवसरमा पोखरामा मिनी बलुन सो पनि हुनेछ। फेस्टिभलमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ब्यान्ड लगायत पोखराका स्थानीय ब्यान्डले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ।
फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुनेछ। सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ। त्यसबाहेक फेस्टिबलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ।
हट एयर बलुनमा सामान्यत : ४० मिनेटको लामो उडान हुन्छ। उडानका क्रममा अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरीलगायतका हिम श्रीङ्खलासहित पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ।
त्यसैगरी सूर्योदय र सूर्यास्तको मनोरम दृश्यका साथै, नाइट बलुन ग्लोज, प्रत्येक दिन २० मिनेट फायर वर्क्स, बलुसन रेस, कन्सर्ट, विभिन्न खेल, फुडकोर्ट, सांस्कृतिक नृत्य, डिजे म्युजिक तथा नाइट क्याम्पलगायतका मनोरञ्जनात्मक गतिविधि हेर्न पाइनेछ।