सुचना, समाचार र मनोरन्जन

चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२ औँ महानिरीक्षक नियुक्त

काठमाडौँ,

नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गते देिख लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक दीपक थापा यसै महिना अवकाशमा जाँदै छन् । थापा ३० वर्षे सेवाअवधि पुरा गरेर भदौ १८ मा अवकाशमा जान लागेका हुन् । उनी २०८१ चैत ४ मा ३१ औँ प्रमुख नियुक्त भएका थिए ।

प्रहरी विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा छ । ऐन पास भएको भए थापाको कार्यकाल कम्तीमा थप ६ महिना थप हुने थियो । नयाँ प्रहरी ऐनमा ३० वर्षे सेवा अवधि क्रमशः हटाउने प्रस्ताव छ ।

तर, छलफल चल्दाचल्दै निजामती विधेयकमा देखिएको कुलिङ पिरियड ‘विवाद’का कारण राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिए । नयाँ सभापति चयन नहुँदा प्रहरी विधेयकमाथिको दफावार छलफल रोकिएको छ ।

आईजीपी थापा २०५२ भदौ १९ मा भर्ना प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । करिब ६ महिना आईजीपी भएर उनी अवकाशमा जान लागेका हुन् ।

खापुङ महानिरीक्षकका लागि एकल दाबेदार रहेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकको नियुक्ति लिएका थिए ।

आईजीपी थापासँगै भर्ना भए पनि सो ब्याचका इन्स्पेक्टरहरूलाई तीन चरणमा नियुक्ति दिइएको थियो । पहिलो लटमा २०५१ चैत ५ मा नियुक्ति लिएका ५३ जना मध्येका वसन्त कुँवर आईजीपी भएर अवकाशमा गइसकेका छन् । कुँवर २०८१ चैत ५ मा अवकाशमा गएका थिए ।

दोस्रो लटमा नियुक्ति लिएका दीपक थापा कुँवर पछि आईजीपी भएका हुन् । थापासँगै नियुक्ति लिएका एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि भदौ १८ मा अवकाशमा जाँदै छन् ।

तेस्रो लटमा खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेलले नियुक्ति लिएका थिए । एआईजी आचार्य २०८१ जेठ १० मा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् । प्रशासन विभागमा कार्यरत एआईजी कृष्णहरि शर्मा पोखरेल एआईजीको ५६ वर्षे उमेरहदका कारण भदौ १५ मा अवकाशमा जाँदै छन् । पोखरेलको अवकाश निश्चित भएसँगै सो लटबाट खापुङ आईजीपीको एकल प्रतिस्पर्धीको रूपमा रहेका थिए।

३२ औँ प्रहरी महानिरीक्षक बन्न लागेका खापुङ हालसम्म विवादमा परेका छैनन् । प्रहरी उपरीक्षक ९एसपी० हुँदा हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा बसेर काम गरेका खापुङले एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरे । डीआईजीमा उनले कोशी प्रदेशको कमाण्ड गरेका थिए ।

खापुङ यसै वर्ष वैशाख १६ मा एआईजीमा बढुवा भएका थिए । ६ जना एआईजीमा बढुवा हुँदा उनी मेरिट लिस्टको पहिलो नम्बरमा थिए । उनीसँगै बढुवा भएका दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी पछिल्लो ब्याचका हुन् ।

Leave A Reply

Your email address will not be published.