सुचना, समाचार र मनोरन्जन

दर्शन, साहित्य र भाषाको त्रिवेणी: पोखरामा घनिभूत बौद्धिक मन्थन

 

पोखरा : सुन्दर पर्यटकीय नगरी पोखरा केवल माछापुच्छ्रेको छाया र फेवातालको सुसेलीमा मात्र रम्दैन, यो त विचारको उर्वर भूमि पनि हो। यही भूमिमा वि.सं. २०४९ सालदेखि वाङ्मयिक आन्दोलनको राँको बालिरहेको संस्था हो गण्डकी साहित्य सङ्गम। स्थापनाकालदेखि नै गण्डकी साहित्य सङ्गम त्रैमासिक पत्रिकामार्फत विचारको सम्प्रेषण गर्ने र ‘गोकुल साहित्य पुरस्कार’ एवं ‘गण्डकी पुरस्कार’ मार्फत सर्जकलाई सम्मानित गर्ने यो संस्थाले हालै राजधानीको नेपाल प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा पोखरामा एक वृहत् बौद्धिक बहसको आयोजना गर्‍यो।

वैशाख १२ गते  पोखराको राष्ट्र बैंक चोकस्थित विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको सभाहलमा साहित्यकार, चिन्तक र अनुसन्धानकर्ताहरूको उल्लेख्य उपस्थिति थियो।  अवसर थियो ‘वर्तमान सन्दर्भमा माक्र्सवादी दर्शन, नेपाली प्रगतिशील साहित्य लेखनका प्रवृत्ति र गण्डकी प्रदेशको भाषिक अवस्था’ विषयक अन्तरक्रियात्मक गोष्ठी।

माक्र्सवाद हिजो, आज र भोलिः गोष्ठीको पहिलो सत्र विचार र दर्शनमा केन्द्रित थियो। प्रगतिशील लेखक सङ्घ (प्रलेस) का उपाध्यक्ष समीर सिंहले ‘वर्तमान सन्दर्भमा माक्र्सवादी दर्शन’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै दर्शनलाई समाज रूपान्तरणको हतियारको रूपमा व्याख्या गरे। वर्तमान विश्व राजनीति र नेपाली परिवेशमा माक्र्सवादको सान्दर्भिकता किन अझै टड्कारो छ भन्ने उनको तर्क थियो।

सिंहको कार्यपत्रमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक सावित्री दुराले दर्शनलाई केवल सिद्धान्तमा मात्र सीमित नराखी व्यवहार र भुइँमान्छेको जीवनसँग जोड्नुपर्नेमा जोड दिइन्। उनले माक्र्सवादको सिर्जनात्मक प्रयोग र समकालीन चुनौतीका विषयमा गहन तार्किक टिप्पणी राखिन् ।

प्रगतिशील साहित्य प्रवृत्ति र चुनौतीः दोस्रो सत्र नेपाली साहित्यको मूलधार मानिने प्रगतिशील लेखनमा केन्द्रित रह्यो। प्रा.डा. यदुनन्दन उपाध्यायले ‘प्रगतिशील नेपाली साहित्य लेखनका प्रवृत्ति’ शीर्षकको कार्यपत्रमा प्रगतिशील साहित्यको ऐतिहासिक पृष्ठभूमिदेखि वर्तमानको अवस्थासम्मको नालीबेली प्रस्तुत गरे। उनले पछिल्लो समयमा देखा परेका लेखनका नयाँ आयाम र विचलनका विषयमा समेत सङ्केत गरेका थिए।

समीक्षक तेजविलास अधिकारीले सो कार्यपत्रमाथि टिप्पणी गर्दै प्रगतिशील साहित्य केवल नारा मात्र नभई यो कलात्मक सौन्दर्य र वर्गीय पक्षधरताको संयोजन हुनुपर्ने धारणा राखे। अधिकारीको टिप्पणीले कार्यपत्रलाई अझ बढी व्याख्यात्मक र स्पष्ट बनाउन मद्दत गरेको सहभागीहरूले महसुस गरे।

गण्डकीको भाषा पहिचान र अस्तित्वः गण्डकी प्रदेश भाषिक रूपमा निकै सम्पन्न छ। तर, आधुनिकीकरण र राज्यको मूल नीतिका कारण यहाँका कतिपय मातृभाषाहरू संकटमा छन्। यही संवेदनशीलतालाई समेट्दै लोकबहादुर थापामगरले ‘गण्डकी प्रदेशको भाषिक अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरे। उनले प्रदेशभित्र बोलिने विभिन्न भाषा, तिनको लिपि र संरक्षणका लागि भइरहेका प्रयासबारे तथ्याङ्कसहितको प्रस्तुति दिएका थिए।

उक्त कार्यपत्रमाथि डा. यमनाथ तिमिल्सिनाले टिप्पणी गर्दै भाषा केवल सञ्चारको माध्यम मात्र नभई यो त एउटा सिङ्गो सभ्यता र संस्कृति भएको बताए। भाषिक विविधतालाई समृद्धिको रूपमा लिनुपर्ने र मातृभाषाको संरक्षणमा राज्यको लगानी बढ्नुपर्ने उनको सुझाव थियो।

बौद्धिक सहभागिता र नेतृत्वः सङ्गमका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीले पोखराको बौद्धिक गरिमालाई पुनः एकपटक उचाइमा पुर्‍याएको छ। कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमल निभाको गरिमामय उपस्थिति थियो। निभाले प्रज्ञाप्रतिष्ठानले केवल राजधानीमा मात्र नभई मोफसलका यस्ता जीवन्त संस्थाहरूसँग सहकार्य गरेर ज्ञानको विकेन्द्रीकरण गर्न चाहेको बताए।

कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारी र अगिब वनेपालीको विशेष उपस्थिति थियो। साथै, प्रा.डा. ज्ञानबहादुर कार्की, झलकपाणि तिवारी, विद्याविमल बराल, यादवराज उपाध्याय, परशुराम कोइराला र छवि सुवेदीले प्रस्तुत कार्यपत्रहरूमाथि पूरक टिप्पणी राख्दै बहसलाई अझ बढी ओझिलो बनाएका थिए।

कार्यक्रममा रघुनाथ अधिकारी, प्रा.डा. शोभाकान्त लामिछाने, कोमलनाथ बराल, संगीत श्रोता, विजया सुवेदी लगायत दर्जनौँ साहित्यकार र बुद्धिजीवीहरूको सक्रिय सहभागिताले पोखराको ‘विजय ढकाल सहिद स्मृति प्रतिष्ठान’ को हल वैचारिक रापले तातिएको थियो।

विचारको यात्रा निरन्तरः गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटले आफ्नो समापन मन्तव्यमा संस्थाले सधैँ प्रगतिशील र जनपक्षीय विचारको पक्षमा वकालत गरिरहने प्रतिबद्धता व्यक्त गरे। सङ्गमको ३४ वर्ष लामो यात्रालाई यस प्रकारका गोष्ठीहरूले थप उर्जा प्रदान गरेको उनको ठहर थियो।

उपाध्यक्ष पद्मराज ढकालको स्वागत र प्राज्ञसभा सदस्य नारायण मरासिनीको सञ्चालनमा सम्पन्न यो कार्यक्रमले एउटा स्पष्ट सन्देश दिएको छ ‘साहित्य केवल कल्पनाको संसार होइन, यो त दर्शन र भाषाको जगमा उभिएको समाजको ऐना हो।’

पोखरामा सम्पन्न यो गोष्ठीले समकालीन साहित्य, भाषिक अवस्था र दर्शनका विविध आयाममाथि गहन बहस मात्र गराएन, यसले बौद्धिक विमर्शको एउटा मानक समेत खडा गरेको छ। गण्डकी साहित्य सङ्गमको यो प्रयासले नेपाली वाङ्मयिक आन्दोलनलाई थप समृद्ध बनाउने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.