सुचना, समाचार र मनोरन्जन

‘लाइटरले बिडी सल्केको’ गीत लिएर अमेरिका जाँदै महेश–अस्मिता

काठमाडौं :

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले अमेरिकाको २० भन्दा बढी सहरमा सांगीतिक प्रस्तुति दिने भएका छन्। मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि आयोजकले जानकारी दिएको हो।

‘सोलफुल युएसए यात्रा’ नाम दिइएको यो सांगीतिक टुर २०२५ को अगस्टदेखि अक्टोबर महिनासम्म सञ्चालन हुनेछ। कार्यक्रम ‘ओनेस्ट रियल इस्टेट’ को प्रस्तुति र ‘थ्री ई इन्टरटेन्मेन्ट’को व्यवस्थापनमा सञ्चालन हुने जनाइएको छ।

टुर अन्तर्गत कोलम्बस (ओहायो), मियामी (फ्लोरिडा), ब्रानफोर्ड (कनेक्टिकट), एशबर्न (भर्जिनिया), ल्यान्कास्टर (पेन्सिलभेनिया) लगायतका सहरहरूमा कन्सर्ट आयोजना गरिने बताइएको छ। थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीका अनुसार, महेश र अस्मिता अमेरिकामा रहेका नेपाली समुदायबीच लोकप्रिय भएकाले व्यापक माग अनुसार टुर आयोजना गरिएको हो।

गायक काफ्ले र गायिका अधिकारीले आफूहरू यो टुरको लागि उत्साहित रहेको बताए। महेशले भने,‘अमेरिकामा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग गीतमार्फत प्रत्यक्ष भेट हुने मौका मिल्दा निकै खुसी लागिरहेको छ।’

महेश काफ्ले र अस्मिता अधिकारीका ‘लजावती झार’, ‘नाच फिरिरि’, ‘लाइटरले बिडी सल्केको’ लगायतका गीतहरू नेपाली दर्शकमाझ अत्यधिक चर्चित छन्। थ्री ई इन्टरटेन्मेन्टले यसअघि आनी छोइङ डोल्मा, प्रमोद खरेल, अञ्जु पन्त, इन्दिरा जोशी, १९७४ एडीलगायतका कलाकारहरूको अमेरिका टुर आयोजना गरिसकेको छ। साथै, संस्था सन् २०२२ देखि भर्जिनियामा ‘डिटिफेस्ट – दसैँ तिहार फेस्ट’ र विगतमा ‘ग्लोबल नेपाल फेस्ट’समेत आयोजना गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.