काठमाडौं :
आगामी कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक गरिएको छ। बडादसैंको घटस्थापनाको अवसर पारेर निर्माण पक्षले सोमबार १ मिनेट ५८ सेकेन्डको टिजर रिलिज गरेको हो।
टिजरमा धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ। इलामको चिया बगान र गाउँले परिवेशमा खिचिएका दृश्यहरुले मौलिक स्वाद दिएको छ। टिजरमा धिरज र मिरुनाबीचको प्रेम झल्काइए पनि कथावस्तुमा बाध्यताका कारण धिरज र दियाबीचको सम्बन्ध देखाइएको छ।
निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) ले यसअघि कमेडी शैलीबाट दर्शकमाझ लोकप्रियता कमाएका भए पनि ‘मैझारो’ बाट उनले मौलिक किराती प्रेमकथामा हात हालेका छन्। टिजरमा देखिएको भावनात्मक कथा र सम्बन्धहरुले फिल्मले उनको निर्देशन क्षमतामा नयाँ उचाइ थप्ने संकेत गरेका छन्।
फिल्ममा धिरज, मिरुना र दियाका अलावा दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।
‘तक्मे प्रोडक्सन’ ब्यानरमा निर्माण भएको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीको स्वरमा गीत समावेश छन्। सौरभ लामाले छायांकन गरेको फिल्मको वितरण आरआर फिल्मले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।