काठमाडौं :
मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का आगामी फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ बाट मुख्य भूमिकामा डेब्यू गर्न लागेकी छन्। राजु गिरीको निर्देशनमा बन्ने यस फिल्ममा उनी लोकप्रिय हास्य कलाकार सागर लम्साल (बले) को जोडीका रूपमा देखिनेछिन्। निर्माण टिमले घटस्थापनाको दिन सोमबार रोशनीलाई अनुबन्ध गरेको हो।
मिस नेपाल २०२५ मा अडिसन दिएको भिडियो क्लिप सार्वजनिक भएपछि चर्चामा आएकी रोशनीलाई पहिलोपटक ठुलो पर्दामा अवसर दिइएको हो। फिल्ममा सागर र रोशनीसँगै रमेश बुढाथोकी, रविन्द्र झा, ध्रुव कोइराला, सुभाष गजुरेललगायतका कलाकारको अभिनय रहनेछ।
फिल्मको लेखन लक्ष्मण सुवेदीले गरेका हुन् भने श्याम तामाङले छायांकन, देव महर्जनले द्वन्द्व निर्देशन गर्नेछन्। अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहने फिल्म चितवन र काठमाडौंमा छायांकन गरिने निर्देशक गिरीले जनाएका छन्। सामाजिक कथानकमा आधारित हास्यप्रधान यो फिल्म उषा फिल्म्स को ब्यानरमा बन्नेछ। दशैंपछि फिल्मको सुटिङ सुरु हुने तयारी छ।