सुचना, समाचार र मनोरन्जन

‘परान’को नयाँ पोस्टरमा नीर शाह, भूमिकालाई लिएर अड्कलबाजी

काठमाडौं :

दीपकप्रसाद आचार्य (काकु) निर्देशित फिल्म ‘परान’ ले सोमबार नयाँ पोस्टर सार्वजनिक गरेको छ। यसपटकको पोस्टरमा दिग्गज अभिनेता नीर शाहलाई मात्र केन्द्रमा राखिएको छ।

पोस्टरमा शंख फुकिरहेका शाहको अनुहारमा गम्भीरता र अनुभव झल्किएको छ। यस दृश्यले फिल्ममा धर्म, संस्कृति वा परम्परागत रीतिरिवाजलाई महत्त्वपूर्ण स्थान दिइएको आभास दिलाएको छ। यसै कारण उनका भूमिकाबारे विभिन्न अड्कलबाजी सुरु भएका छन्।

यसअघि महेश त्रिपाठी र अञ्जना बराईलीलाई चित्रित पोस्टर सार्वजनिक भइसकेको छ। फिल्मको ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ रहेको छ, जसले एकअर्काको साथ र सम्बन्धलाई कथाको केन्द्रमा राखेको बुझ्न सकिन्छ।

बाइस्कोप सिनेमा प्रालिको एकल ब्यानरमा निर्माण भएको यो फिल्म कम्पनीको पहिलो प्रोजेक्ट हो। कथावस्तु निर्देशक आचार्यकै हो भने पटकथा तथा संवाद यम थापाले लेखेका हुन्।

फिल्ममा नीर शाहसँगै महेश त्रिपाठी, अञ्जना बराईली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, सीमा काफ्ले लगायत कलाकारको अभिनय रहेको छ। संगीत रिदम कँडेलको छ भने गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतको स्वर रहनेछ।

‘परान’ आगामी कार्तिक १४ (अक्टोबर ३१) बाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले यसअघि फिल्मको एक गीत फुलपाती अघिल्लो दिन सार्वजनिक गर्ने तयारीसमेत गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.