सुचना, समाचार र मनोरन्जन

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं :

गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । शुक्रवार बराल र राउतसँग निर्माताले कागजी सम्झौता गरेका हुन्।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन्। चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् भने कथा निर्देशक पाण्डेयले रचेका हुन्। यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने छायाङ्कन निर्देशक महेश पौडेल रहेका छन्। विजय बस्यालले पोस्टर डिजाइन गर्नेछन् भने रोमी तण्डुकारले सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, राजेन्द्र थापाको गीत रचना र राजनराज सिवाकोटीले सङ्गीत दिनेछन्। निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ बिल्कुलै पारिवारिक प्रेमकथामा आधारित छ। उनले अहिले नै विजय बराल र वर्षा राउतको भूमिकाबारे विस्तृत जानकारी दिन नमिल्ने बताएका छन्।

उल्लेखनीय कुरा के छ भने, यस चलचित्रका लागि विजय बराल र वर्षा राउतले करिब ३ महिना अन्य चलचित्रमा काम नगर्ने भएका छन्। उनीहरूले आफ्नो चरित्र निर्माणको लागि यो समय सदुपयोग गर्नेछन्। चलचित्रको छायाङ्कन भदौको पहिलो हप्तादेखि करिब ४० दिनको तालिकासहित सुरु हुने कार्यकारी निर्माता ज्ञवालीले बताए। साथै उनले ‘मालती मंगले’ यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको जनाए।

यस चलचित्रका निर्माता करिब ४ हजारभन्दा धेरै नेपाली गीतमा स्वर दिएका सुप्रसिद्ध गायक रामकृष्ण ढकाल हुन्। उनको नेपाली चलचित्रसँगको सम्बन्ध पुरानो छ । सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको चलचित्र ‘आशीर्वाद’मा उनले अभिनय गरेका थिए। उक्त चलचित्र उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘मालती मंगले’ मार्फत उनी यस पटक निर्माताको भूमिकामा आएका हुन्।

Leave A Reply

Your email address will not be published.