सुचना, समाचार र मनोरन्जन

स्वास्थ्यमा पारदर्शिता र उत्तरदायित्व खोज पत्रकारिताबाट सम्भव : कार्यशालामा जोड

काठमाडौं :

‘स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ विषयक एक दिने कार्यशाला सम्पन्न भएको छ। स्वास्थ्य पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र स्वास्थ्य पत्रकार मञ्च, नेपाल (एचजेएफएन)को संयुक्त आयोजनामा बिहीबार काठमाडौंमा कार्यशाला तथा तालिम आयोजना गरिएको हो ।

कार्यशालामा डा. गणेश दंगाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रमोद जोशी, एनएचआरसीका अध्यक्ष प्रा. डा. नारायण विक्रम थापा, वरिष्ठ पत्रकार शिव गाउँले, डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदी र डा. युविन यादवले प्रस्तुती दिए। सो कार्यशालाको सत्रमा ‘नेपालमा स्वास्थ्य क्षेत्रको अनुसन्धानको निकाय’ विषयमा परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले प्रस्तुति दिए।

उनले स्वास्थ्य अनुसन्धानमा पारदर्शिता, उत्तरदायित्व र नीति निर्माणमा जरुरत भएको बताउँदै नैतिकता र तथ्यमा आधारित अनुसन्धानमुलक पत्रकारिताको खाँचो रहेको बताए। खोज पत्रकारिताका विज्ञ तथा वरिष्ठ पत्रकार शिव गाउँलले स्वास्थ्यमा क्षेत्रमा खोजी, अनुसन्धान र खबरदारी कमजोर रहेकोे बताउँदै यसतर्फ ध्यान दिन स्वास्थ्य पत्रकारहरूको ध्यानाकषर्ण गराए।

गाउँलले स्वास्थ्यमा कैयौं खोजीका विषयवस्तु रहेको भन्दै सञ्चारमाध्यम र पत्रकारले त्यस्ता विषयलाई उजागर गरी जनस्वास्थ्य सुधारको लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । त्यस्तै, कार्यशालामा बोल्दै परिषद्का अध्यक्ष प्रा. डा. नारायण विक्रम थापाले अनुसन्धान र सञ्चारको सहकार्यबाट स्वास्थ्य प्रणाली सुधारको लागि सहजता हुने बताए ।

‘स्वास्थ्य अनुसन्धानको परिणाम आम मान्छेसम्म पु¥याउन मिडियाको महत्वपूर्ण हुन्छ,’ डा. थापाले भने।

दोस्रो सत्रमा ‘जनस्वास्थ्यको अनुसन्धान पद्धति ः सिद्धान्त र अभ्यास’ विषयमा प्रा. डा. गणेश दंगालले प्रस्तुति दिए। डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदीले ‘कृत्रिम बौद्धिकता (एआइ) का आधारभूत विषय र मिडियाका नयाँ प्रविधिहरू’ र ‘स्वास्थ्य क्षेत्रको समाचार रिपोर्टिङमा एआई विधिको प्रयोग’को विषयमा प्रस्तुति दिए।

त्यसैगरी अन्तिम सत्रमा डा. युविन यादवले ‘चिकित्सा विज्ञानमा अनुसन्धानको महत्व’ विषयमा प्रस्तुति दिएका थिए। कार्यशालामा बोल्दै स्वास्थ्य पत्रकार मञ्च, नेपाल (एचजेएफएन)का कार्यवाहक अध्यक्ष बुद्दि कटेलले यस्तो कार्यकाला कोशेढुंगा हुने विश्वास व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.