सुचना, समाचार र मनोरन्जन

मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन् ।
उनले करिब ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेका थिए । उनले भने, “विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाहिँ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।”

बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानकोसमेत दूध लिएर घोराही बजारको डेरीमा पुर्‍याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी । उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ ।

थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम छुटाएका छैनन् । थापालाई लाग्छ म एक दिन बिरामी भएँ भने यो दूध अर्को दिन कहाँ लगेर बेचुँ ।

गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरे पनि दूध बजारसम्म पुर्‍याउने काम भने थापा आफैले मात्र गर्दै आएका छन् । सुरुमा दुईवटा गाईबाट यो पेसामा लागेका थापासँग हाल १७ गाई छन् । तीमध्ये सात वटा दुहुना छन् । दैनिक ८० लिटर दूध उत्पादन हुने गरेको थापाको भनाइ छ ।

विदेशमा कमाएको पैसाले घोराही बजारमा घडेरी किनेर एक तलाको घर बनाएका थापाले स्वदेश आएपछि ट्रक किन्नेदेखि बाख्रा पाल्नेसम्मको काम गरे। अन्य पेसामा सफल नभएका थापा गाईपालनमा भने सफल भएका हुन् ।

उनले भने, “मैले मासिक एक लाखभन्दा बढी आम्दानी गर्दै आएको छु मेहनत गरे आफ्नै देशमा पैसा फल्दो रहेछ ।” गाईपालनबाट पाँच वर्षमा थापाले करिब रु ५० लाख आम्दानी गर्नुका साथै जिल्लाकै एक उदाहरणीय किसान बनेका छन् ।

Leave A Reply

Your email address will not be published.