सुचना, समाचार र मनोरन्जन

मानव सेवाको निमित्त गरिएको महायज्ञबाट ३ करोड ४५ लाख रुपैयाँ बचत

पोखरा,

मानवसेवा आश्रमले पोखरा महानगरपालिका–२५ हेमजामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३ को आय–व्यय विवरण सार्वजनिक गरेको छ। आश्रमले सोमबार पत्रकार सम्मेलन गर्दै महायज्ञबाट ३ करोड ८१ लाख ७१ हजार ७ सय ७१ रुपैयाँ ५३ पैसा संकलन भएको र सबै खर्च कटाउँदा ३ करोड ४५ लाख ९ हजार १ सय ८४ रुपैयाँ बचत भएको जनाएको हो।

गत वैशाख १९ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको महायज्ञका लागि ७७ लाख १२ हजार ५ सय ८७ रुपैयाँ ५२ पैसा खर्च भएको महायज्ञ मूल आयोजक समिति संयोजक अनित कुमार शाहीले जानकारी दिए।

उनका अनुसार संकलित रकम नगद, चेक, क्यूआर तथा अनलाइन माध्यमबाट प्राप्त दान, व्यक्ति तथा संस्थागत प्रतिबद्धता, स्थानीय तहबाट प्राप्त सहयोग, जिन्सी सहयोग, दानपेटिका, गोप्यदान तथा विभिन्न बिक्रेताबाट प्राप्त छुट रकमसमेत समावेश गरिएको हो।

सार्वजनिक विवरणअनुसार नगद, चेक, क्यूआर र अनलाइनमार्फत मात्रै २ करोड २४ लाख ७९ हजार १ सय ६३ रुपैयाँ संकलन भएको छ। यस्तै, व्यक्ति तथा संस्थागत प्रतिबद्धता र स्थानीय तहबाट १ करोड ४४ लाख ४ हजार ८ सय ५४ रुपैयाँ प्राप्त भएको छ। दानपेटिकाबाट ४ लाख २२ हजार ५ सय ७३ रुपैयाँ, बैंक ब्याजबाट २६ हजार ६ सय ७ रुपैयाँ, गोप्यदानबाट ११ हजार ६ सय १० रुपैयाँ तथा बिक्रेताबाट प्राप्त छुट रकम ९ हजार ५ सय ६९ रुपैयाँ रहेको आश्रमले जनाएको छ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार महायज्ञको मुख्य उद्देश्य हेमजा शाखाको निर्माणाधीन भवन निर्माणलाई पूर्णता दिनु, लक्ष्मीनारायण मन्दिर र मुक्तिनाथ सेवा धर्मशाला निर्माण गर्नु तथा आश्रमको अक्षयकोषलाई थप सुदृढ बनाउनु रहेको थियो। उनले महायज्ञ सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सबै दातादाता, स्वयंसेवक, संघसंस्था तथा स्थानीयवासीप्रति आभार व्यक्त गरे।

अध्यक्ष अधिकारीले आश्रमले अहिले पनि ठूलो आर्थिक दायित्व वहन गर्दै सेवा सञ्चालन गरिरहेको जानकारी दिए। उनका अनुसार हेमजा र छोरेपाटन शाखामा हाल ८६ महिला, १६२ पुरुष, ५ बालक र ४ बालिका गरी २५४ जना सहयोगापेक्षी मानव संरक्षणमा रहेका छन्। उनीहरूको भोजन, आवास, स्वास्थ्य उपचार, लत्ताकपडा तथा अन्य आधारभूत आवश्यकताको व्यवस्थापनका लागि मासिक करिब १९ लाख रुपैयाँ खर्च हुने गरेको उनले बताए।

उनले महायज्ञबाट बचत भएको रकमले आश्रमको भौतिक पूर्वाधार निर्माणसँगै दीर्घकालीन सेवा सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। अक्षयकोषको विस्तारले भविष्यमा सहयोगापेक्षी मानवको संरक्षण र पुनःस्थापनाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

२०६९ साल भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुरु गरेको मानवसेवा आश्रम अहिले सातै प्रदेशका २३ जिल्लामा ३४ वटा शाखा सञ्चालन गर्दै सहयोगापेक्षी सडकआश्रित तथा असहाय मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा सक्रिय रूपमा काम गर्दै आइरहेको छ।

Leave A Reply

Your email address will not be published.