सुचना, समाचार र मनोरन्जन

‘मनको कुरा गरौँ’ भन्ने नाराका साथ ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ

‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्मा गौतमले आज एक कार्यक्रमका बीच ‘मनको कुरा गरौँ’ भन्ने नाराका साथ अभियानको शुभारम्भ गरे ।

स्वास्थ्यमन्त्री गौतमले युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको भन्दै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताए । उनले सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध रहेको जानकारी दिए ।

स्वास्थ्यमन्त्री गौतमले पालिकाको समन्वयमा समुदाय स्तरमा परामर्शदाता परिचालन गरेर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइएको बताउनुभयो । मानसिक समस्या भएका मानिससँग बोल्ने, मनका कुरा सुन्दिने गर्नुपर्ने भन्दै उहाँले त्यो नगर्दा भित्रभित्रै गुम्सिँदै कडा रूप लिन सक्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठले मानसिक स्वास्थ्यलाई प्राथमिकता राखेर काम गरेको जानकारी दिए । उनले तीन महिनासम्म सञ्चालन हुने अभियानमा मानसिक रोगबारे जानकारी, पारिवारिक तथा सामुदायिक सहारा, भेटघाट, तनाव कम गर्ने मुख्य उद्देश्य रहेको बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरवहादुर ढकालले नेपालमा मानसिक स्वास्थ्य गम्भीर भए पनि पर्याप्त मात्रामा महत्त्व नपाएको बताए । मानसिक स्वास्थ्य व्यक्तिगत नभइ जनस्वास्थ्यको आधारभूत समस्या रहेको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.