सुचना, समाचार र मनोरन्जन

पोखरामा ‘पेन्सन पट्टा’को दबदबा, पहिलो दिनमै ७ लाख ४८ हजार ग्रस कलेक्सन

क्युएफएक्समा १,२८० र मिडटाउनमा ६५० दर्शक, शनिबारका सबै शो हाउसफूल

पोखरा : माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनमै पोखरामा उत्साहजनक व्यापार गरेको छ । भदौ २६ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले पोखराका प्रमुख सिनेमा हलमा दर्शकको उल्लेखनीय साथ पाउँदै सुखद सुरुवात गरेको हो ।

पोखराका दुई प्रमुख हल क्युएफएक्स सिनेमाज र मिडटाउन सिनेमाजबाट मात्रै चलचित्रले पहिलो दिन ७ लाख ४८ हजार रुपैयाँको ग्रस कलेक्सन गरेको छ । यी दुई हलमा कुल १ हजार ९ सय ३० दर्शकले चलचित्र हेरेका छन् ।

पोखरा ट्रेडमलमा रहेको क्युएफएक्स सिनेमाजमा पहिलो दिन १ हजार २ सय ८० दर्शकले ‘पेन्सन पट्टा’ हेरेका छन् । क्युएफएक्सका म्यानेजर पशुपति कार्कीका अनुसार उक्त हलबाट मात्रै पहिलो दिन ५ लाख ५ हजार रुपैयाँको ग्रस कलेक्सन भएको छ ।

यस्तै, मिडटाउन सिनेमाजमा पहिलो दिन ६ सय ५० दर्शकले चलचित्र हेरेका छन् । मिडटाउनका म्यानेजर संकेत द्वाका अनुसार पहिलो दिनको ग्रस कलेक्सन २ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

यसरी दुई हलको व्यापार जोड्दा चलचित्रले पोखरामा पहिलो दिनमै ७ लाख ४८ हजार रुपैयाँको ग्रस कलेक्सन गरेको हो ।

पहिलो दिनको उत्साहले दोस्रो दिन शनिबार पोखरामा अझ गति लिएको छ । पोखरा ट्रेडमलस्थित क्युएफएक्स सिनेमाजमा शनिबार ५ शो र मिडटाउन सिनेमाजमा पनि ५ शो राखिएको छ । दुवै हलका पाँचै शो हाउसफूल रहेको जनाइएको छ ।

श्रीकृष्ण चलचित्र मन्दिरमा शनिबार ३ शो राखिएको छ । पहिलो दिनको व्यापार र शनिबारको हाउसफूल अवस्थाले चलचित्रको आगामी व्यापारप्रति आशा बढाएको छ ।

श्रीकृष्ण चलचित्र मन्दिरमा समेत दर्शकको उल्लेखनीय सहभागिता रहेको सञ्चालक केदार पराजुलीले बताएका छन् । पोखरासँगै बुटवल, दमौली, लमजुङ, चितवन र काठमाडौंको ललितपुरमा पनि चलचित्रले उत्साहजनक सुरुवात गरेको जनाइएको छ ।

‘पेन्सन पट्टा’ले प्रदर्शनको सुरुवातमै दर्शकको साथ पाउनु सुखद संकेत भएको हल सञ्चालक तथा चलचित्रकर्मीहरूको भनाइ छ । नेपाली समाज, परिवार र जीवनका भावनात्मक पक्षलाई प्रस्तुत गरेको चलचित्रप्रति दर्शकको माउथ पब्लिसिटी पनि सकारात्मक देखिएको छ ।

पहिलो दिन निर्देशक माओत्से गुरुङसहित कलाकार विश्वास गुरुङ, माया गुरुङ र डिबी गुरुङ पोखराका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । चलचित्र हेरेपछि कतिपय दर्शकले फिल्ममा आफ्नै परिवार वा समाजमा घटेका घटनाको झल्को पाएको प्रतिक्रिया दिएका छन् ।

कास्कीको पर्यटकीय गाउँ ताङतिङका दृश्यले पनि दर्शकको ध्यान खिचेको छ । चलचित्रको कथावस्तु, छायांकन र कलाकारको अभिनयलाई दर्शकले रुचाएको पाइएको छ ।

दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, विल्सन विक्रम राई, बुद्धी तामाङ, सुरज तमु, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, डिबी गुरुङ, स्वर्गीय सुनिल थापा र मनिता गुरुङलगायतका कलाकारको अभिनयले चलचित्रलाई थप बलियो बनाएको छ ।

विशेषगरी ताङतिङको प्राकृतिक सौन्दर्य र स्थानीय परिवेशले चलचित्रको कथालाई जीवन्त बनाएको दर्शकको प्रतिक्रिया छ ।

पोखरामा पहिलो दिनमै देखिएको उत्साह, दोस्रो दिनका हाउसफूल शो र सकारात्मक माउथ पब्लिसिटीले ‘पेन्सन पट्टा’को देशभरको व्यापारमा थप आशा जगाएको छ । पहिलो दिनको व्यापारले नेपाली चलचित्रप्रति दर्शकको आकर्षण र हलमा फर्किएको उत्साहलाई समेत संकेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.